अध्यावधिक गरिएको :अमेरिकामा १० वटा राज्यमा आएको भीषण आँधी,घुम्रपात (टोर्नाडो)तथा बाढीको कारण १८ जनाको मृत्यु , करिव ९० वटा घुम्रपात (टोर्नाडो)

इनेप्लिज २०८१ चैत २३ गते २१:५६ मा प्रकाशित

अमेरिकाको दक्षिणी र मध्य क्षेत्रहरूमा विनाशकारी भीषण आँधी, घुम्रपात (टोर्नाडो) र बाढीले तहल्का मच्चाउँदै कम्तीमा १८ जनाको ज्यान लिएको छ।

पछिल्ला चार दिनदेखि मौसम प्रणाली लगभग स्थिर रहँदै लुजियाना, टेनेसी, अर्कान्सस, जर्जिया, फ्लोरिडा, मिसिसिपी र मिजोरीसहित १० वटा राज्यमा ९० भन्दा बढी घुम्रपात (टोर्नाडो)आएका छन् ।

गत बुधवारदेखि सुरु भएको मौसमी संकटले केन्टकीमा एक ९ वर्षीय बालकलाई बाढीले बगाएर ज्यान लिएको छ। टेनेसीको सेल्मर शहरमा आएको शक्तिशाली इएफ-३ ,घुम्रपात (टोर्नाडोले कयौंको ज्यान लिएको छ। अर्कान्ससमा ५ वर्षे बालकको मृत्यु भएको छ भने मिजोरीमा पानीमा फसेका व्यक्तिलाई बचाउन जाँदा १६ वर्षीय स्वयंसेवी दमकलकर्मीको गाडी दुर्घटनामा मृत्यु भएको छ।

टेनेसीमा मात्रै १० जनाको ज्यान गएको पुष्टि भएको छ, मिजोरीमा ३, केन्टकीमा २, र अर्कान्सस, इन्डियाना, मिसिसिपीमा १/१ जनाको मृत्यु भएको छ। मिसिसिपीका गभर्नर टेट रीभ्सले १४ वटा काउन्टीमा क्षति भएको जानकारी दिँदै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्।

मेम्फिसमा एक दिनमै १४ इन्चभन्दा बढी वर्षा भएको छ, जुन अहिलेसम्मकै अप्रिल महिनाको कीर्तिमान हो। शहरमा आकस्मिक बाढीको अवस्था घोषणा गरिएको छ। त्यस्तै, लिटल रक, अर्कान्ससमा १२ इन्चसम्म पानी परेपछि ठूलो क्षेत्र प्रभावित बनेको छ।

राष्ट्रिय मौसम सेवाले बाढी आउने चेतावनी जारी गरेको छ । आइतबार बिहानसम्म लुजियाना देखी पेन्सिल्भेनियासम्म बाढीको चेतावनी जारी गरिएको थियो। एटलान्टा, मेम्फिस, न्याशभिल, सिनसिनाटी , लुइभिल लगायत ठूला शहरहरू प्रभावित छन्।

टेनेसी आपतकालीन व्यवस्थापन संस्थाले ७५ माइल प्रतिघण्टासम्मको हावाको सम्भावना, शक्तिशाली घुम्रपात र घातक बाढीले अवस्था अझ बिग्रिन सक्ने चेतावनी दिएको छ ।

यस प्रकोपले हजारौं मानिसलाई घरबाट विस्थापित गराएको छ। उद्धारकर्मीहरू दिनरात राहत तथा उद्धारमा खटिएका छन्।

प्रतिक्रिया