वेदकोटको -१० मा बहुप्रतीक्षित पुलको शिलान्यास: जनजीवन सहज बनाउने आशा

इनेप्लिज २०८१ चैत २४ गते ९:५६ मा प्रकाशित

प्रकाश भट्ट, कञ्चनपुर – वेदकोट नगरपालिका वडा नम्बर १० को अठभैया टोलमा बहुप्रतीक्षित पुलको शिलान्यास सम्पन्न भएको छ। शनिबार एक समारोहबीच नगर प्रमुख भोजराज बोहराले पुलको शिलान्यास गर्नुभएको हो। यो पुलको निर्माणले लामो समयदेखि स्थानीय बासिन्दाले भोग्दै आएको आवतजावतको समस्या समाधान हुने अपेक्षा गरिएको छ।

शिलान्यास समारोहमा बोल्दै नगर प्रमुख बोहराले यो पुलले विद्यार्थी, बिरामी, निर्माण सामग्री ढुवानी र सवारीसाधनको आवागमनमा उल्लेखनीय सहजता ल्याउने बताउनुभयो। “यो हाम्रो नगरको समग्र विकासमा कोसेढुङ्गा साबित हुनेछ। यसले जनताको समय र श्रमको बचत गर्नुका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउनेछ,” उहाँले भन्नुभयो। साथै, उहाँले निर्माण कम्पनीलाई तोकिएको समयमा गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ।

स्थानीय बासिन्दाले विगतमा पुलको अभावमा ठूलो कठिनाइ भोग्नुपरेको गुनासो गरेका छन्। बुढापाका, विद्यार्थी र बिरामीले २-३ किलोमिटर घुमेर आवतजावत गर्नुपर्ने बाध्यता थियो। “हाम्रा बालबालिकालाई स्कुल जान र बिरामीलाई अस्पताल पुर्‍याउन निकै समस्या थियो,” स्थानीय खुसिराम डंगौराले भने। तर, शिलान्याससँगै यहाँका बासिन्दामा खुसीयाली छाएको छ। “अब हाम्रा समस्या समाधान हुने आशा पलाएको छ, यो हाम्रा लागि ठूलो राहत हो,” उनले हर्षित हुँदै थपे।

वडा नम्बर १० का वडाध्यक्ष रतन सिंह विष्टले यो परियोजनालाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो। “स्थानीय जनताको सक्रिय सहभागिता र निर्माण कम्पनीको जिम्मेवारीले यो परियोजनालाई समयमै सम्पन्न गर्न सकिन्छ,” उहाँले विश्वास व्यक्त गर्नुभयो।

नेपाली कांग्रेसका वेदकोट नगर सभापति तुलाराम साहुले पनि यो कार्यको स्वागत गर्दै भने, “यो पुलले यहाँका जनताको जीवनस्तरमा सुधार ल्याउनेछ। हामी सबैले यो परियोजनाको सफलताको कामना र आवश्यक सहयोग गर्नुपर्छ।”

पुल निर्माणका लागि २१ लाख १८ हजार २१७ रुपैयाँ बजेट विनियोजन गरिएको छ। श्री न्यू बासुलिङ कन्सट्रक्सन्सले आगामी १ महिनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। ठेकेदार उत्तम चन्दले स्थानीय आवश्यकता र भौगोलिक अवस्थालाई ध्यानमा राखेर गुणस्तरीय र दिगो संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। “हामी तोकिएको समयमै जनतालाई सुविधा दिने लक्ष्यका साथ काम गर्नेछौँ,” उहाँले भने।

पुलको शिलान्यासले अठभैया टोलको विकासमा नयाँ ढोका खोलेको स्थानीयको भनाइ छ। विशेषगरी सीमान्तकृत र दुर्गम क्षेत्रमा यस्ता पूर्वाधारले जनजीवन सहज बनाउनुका साथै आर्थिक समृद्धिको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया