चीनको आरोप: अमेरिका एकपक्षीयता, संरक्षणवाद र आर्थिक दादागिरी गर्दैछ

इनेप्लिज २०८१ चैत २४ गते ११:०५ मा प्रकाशित

चीनले अमेरिकालाई एकपक्षीयता, संरक्षणवाद र आर्थिक दादागिरी (इकोनोमिक बुलिङ्ग ) को आरोप लगाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “अन्तर्राष्ट्रिय नियमभन्दा ‘अमेरिका पहिलो’ भन्ने सोच राख्नु एकपक्षीयता, संरक्षणवाद र आर्थिक दादागिरीको प्रतिनिधि कार्य हो।”

पछिल्लो हप्ता, राष्ट्रपति डोनाल्ड ट्रम्पले “लिबरेशन डे” अर्थात् मुक्ति दिवसका अवसरमा चीनबाट आयात हुने वस्तुहरूमा ३४% थप शुल्क लगाउने घोषणा गरे। यसअघि फेब्रुअरी र मार्चमा दुई पटक गरेर १०% का दरले शुल्क घोषणा भइसकेको थियो। ट्रम्पका अनुसार यो कदम चीनको फेन्टानिल संकटमा भूमिकाका कारण उठाइएको हो।

चीनले तुरुन्त जवाफी कारबाही गर्दै अमेरिकाबाट आयात हुने वस्तुहरूमा ३४% शुल्क लगायो। साथै, केही अमेरिकी प्रतिष्ठान(कम्पनी)हरूको जौँ, कुखुरा र हड्डीको चूर्ण आयात पनि रोकिएको छ।

चीनले दुर्लभ खनिजहरूको निर्यातमा पनि नियन्त्रण कडा पार्ने निर्णय लिएको छ, जसले उच्च प्रविधिका उपकरणहरूमा प्रभाव पार्न सक्छ। साथै, चीनले यो विषयलाई विश्व व्यापार संगठनमा मुद्दा दायर गरेर लैजाने निर्णय पनि गरिसकेको छ।

लिनले भने, “नयाँ शुल्कहरूले विश्व आपूर्ति प्रणाली र उत्पादन स्थायित्वमा असर पारेका छन् । साथै विश्व आर्थिक पुनरुत्थानमा गम्भीर प्रभाव पारेका छन्। दबाब र धम्की चीनसँग व्यवहार गर्ने तरिका होइन।”

प्रतिक्रिया