चीनले अमेरिकासँगको व्यापार युद्ध अन्त्यसम्म लड्ने चेतावनी दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै घोषणा गरेको थप भन्सार शुल्कबारे गम्भीर वार्ताको इच्छा नराखेको टिप्पणी गरे।
यदि ट्रम्पले सोमबार धम्की दिएको ५०% थप शुल्क लागू गरे भने अमेरिकी भन्सार कर १०४% पुग्न सक्छ। यसबारे सोधिएको प्रश्नमा लिनले भने, “यदि अमेरिका साँच्चिकै वार्ता चाहन्छ भने उसले समानता, सम्मान र पारस्परिकताको दृष्टिकोण लिनुपर्छ।”
उनले कडा चेतावनी दिँदै भने, “यदि अमेरिकाले दुवै देश र अन्तर्राष्ट्रिय समुदायको हित बेवास्ता गर्दै भन्सार र व्यापार युद्धलाई अघि बढायो भने, चीन अन्त्यसम्म त्यसको सामना गर्न तयार छ।”
यसअघि मंगलबार नै लिनले भनेका थिए, “भन्सार र व्यापार युद्धमा कसैको जित हुँदैन, संरक्षणवादको बाटो सफल हुने होइन।”
उनले थपे, “दबाब, धम्की र भयादोहन (ब्ल्याकमेल )चीनसँग व्यवहार गर्ने सही तरिका होइन। चीन आफ्ना वैध अधिकार र हितहरूको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछ।”
चीनको यो प्रतिक्रिया राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप भन्सार शुल्क लगाउने चेतावनी दिएपछि आएको हो।
प्रतिक्रिया