अमेरिकाको भन्सार नीति भेदभावपूर्ण र धम्कीपूर्ण: चीनको कडा प्रतिक्रिया

इनेप्लिज २०८१ चैत २५ गते १०:२१ मा प्रकाशित

चीनले अमेरिकाद्वारा लगाइएका “पारस्परिक भन्सार”लाई आधारहीन र एकतर्फी दादागिरीको अभ्यास भनेको छ। मंगलबार बिहान स्थानीय समयअनुसार एक विज्ञप्तिमा चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले ती कडा शब्दहरू प्रयोग गर्दै अमेरिका विरुद्ध गम्भीर आपत्ति जनाए।

“चीनले फेरि दोहोर्याउँछ कि व्यापार युद्धमा कोही विजेता हुँदैन, र संरक्षणवादको कुनै समाधान हुँदैन,” प्रवक्ताले स्पष्ट रूपमा भने।

विज्ञप्तिमा भनिएको छ, “चीन अमेरिकालाई तत्काल आफ्ना गलत अभ्यासहरू सुधार्न, चीनमाथिका सबै एकतर्फी भन्सार उपायहरू खारेज गर्न, चीनको अर्थतन्त्र र व्यापारमाथि हुने दमन बन्द गर्न, र पारस्परिक सम्मानका आधारमा समानतापूर्ण संवादमार्फत मतभेद समाधान गर्न आग्रह गर्छ।”

चीनले अमेरिकी कदमहरूलाई व्यापारिक दमनको रणनीति मात्र नभई अन्तर्राष्ट्रिय व्यापार मर्यादाविपरीतको कार्यसमेत भनेको छ। यी कदमहरूले केवल दुई देशबीचको सम्बन्ध बिगार्ने मात्र नभई, विश्वव्यापी आर्थिक स्थायित्वमा पनि असर पार्ने चीनको ठहर छ।

यो प्रतिक्रिया अमेरिकी प्रशासनले चीनमाथि थप भन्सार शुल्कको घोषणा गरेपछि आएको हो। पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका विभिन्न वस्तुहरूमा करिब १०४% सम्म भन्सार शुल्क बढाउने चेतावनी दिएका थिए।

चीनले कूटनीतिक भाषामा कडा सन्देश दिँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष अमेरिकी नीतिको विरोध जारी राखेको छ।

प्रतिक्रिया