पोर्टल्याण्ड, ओरिगन/ युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो – हलिउडले आफ्नो स्थापनाको ३०औ वार्षिक उत्सव भव्यरुपमा मनाउने तयारी गरेको छ।
युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा स्थापना गरेका हुन्।
उनी अमेरिकामा तेक्वान्दो स्कुल स्थापना गर्ने पहिलो नेपाली हुन्।
‘निकै उत्साहित र व्यग्र प्रतीक्षामा छौ। यो तीन दशकको यात्रालाई हामी भव्यरुपमा स्मरण गर्दै छौ।’ युएस वर्ड क्लास तेक्वान्दो हलिउडका संचालक तथा मुख्य प्रशिक्षक महर्जनले भने।
महर्जनका अनुसार मे महिनाको १६ देखि १८ तारिख तीन दिन सम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइने छ।
‘हाम्रो स्थापना मार्चमा हो, त्यो समयमा मौषम पनि अलिक चिसो हुने र बाहिरबाट आएका पाहुँनाहरुको आतिथ्ययतालाई पनि प्रभाव पार्ने भएकाले मे महिनामा वार्षिक उत्सव मनाउने निर्णय गरेका हौ।‘उनले भने।
प्रशिक्षक महर्जनले यस पटकको वार्षिक उत्सवमा अन्तर्राष्ट्रिय सहभागिता हुने बताए।
‘तिसौँ वर्षगाँठ भएकाले पनि विषेश छ, त्यसमा पनि यस पटक अमेरिकाका विभिन्न राज्य र अमेरिका बाहिरबाट पनि पाहुनाहरू आउँदै हुनुहुन्छ।’ उनले भने, ‘विषेश गरी कोरियाबाट कुकिवान ग्राण्ड मास्टरको सहभागिता हुने छ।‘
वार्षिक उत्सवका लागि कोरिया सहित अष्ट्रेलिया, क्यानडा र नेपालबाट पनि सहभागी हुने छ।
प्रशिक्षक महर्जनले शुरुका दुई दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुने बताए।
‘तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्राण्डमास्टरहरुले सेमिनारमा सबैलाई अपडेट गर्ने छन् र ब्ल्याक वेल्ट देखि माथिका डान टेस्ट परीक्षा पनि हुने छ।’ महर्जन भने, ‘त्यस पछि हामीले सांस्कृतिक कार्यक्रम पनि गर्ने छौ, हामी तेक्वान्दोको सँग सँगै नेपाली संस्कृतिको संवर्धनमा पनि उत्तिकै सक्रिय छौ।‘
वार्षिक उत्सवमा विभिन्न अवार्ड प्रदान गरिने।
स्टुडेन्ट अफ मन्थ , ब्याल्कबेल्ट अफ दि इयर, फ्यामेली अफ दि इयर र भोलेन्टियर अफ दि इयर गरी चार वडा अवार्ड वार्षिक उत्सवमामा प्रदान गरिने छ।
प्रतिक्रिया