राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बाइडेन कार्यकालमा सुरू गरिएको सिबीपी वान अनुप्रयोग( एप) मार्फत अमेरिका प्रवेश गरेका झण्डै १० लाख आप्रवासीको परोल स्थिति (अस्थायी कानुनी बसोबास अनुमति) रद्द गरेको छ। ती आप्रवासीलाई तत्काल अमेरिका छाड्न वा स्थायी प्रतिबन्धको सामना गर्न चेतावनी दिइएको छ।
सिबीपी वान एप जनवरी २०२३ मा सुरु गरिएको थियो जसले आप्रवासीहरूलाई आधिकारिक सीमा प्रवेश नाकाहरूमा भेट्ने निश्चित समय (एपोइन्टमेन्ट )लिने अनुमति दियो। यसमार्फत उनीहरूलाई शरणको लागि निवेदन दिन र दुई वर्षका लागि अस्थायी काम गर्न पाउने अनुमति दिइएको थियो।
राष्ट्रपति ट्रम्पले कार्यभार लिने बित्तिकै पहिलो दिनमै यो एपमार्फत आप्रवासीलाई परोल दिने प्रक्रिया बन्द गरेका थिए। अब उनको प्रशासनले गृह सुरक्षा विभाग मार्फत आप्रवासीहरूलाई कानुनी हैसियत खारेज गरिएको जानकारी पठाउन थालेको छ।
डिएचएसद्वारा पठाइएको सन्देशमा भनिएको छ, “यदि तपाईहरुले तुरुन्त अमेरिका नछाड्नु भएमा तपाईहरुविरुद्ध कानुनी कारबाही हुनेछ र तपाईहरुलाई अमेरिका प्रवेशमा स्थायी प्रतिबन्ध लगाइनेछ।”
डिएचएसले अब सिबिपी वान अनुप्रयोग (एप)लाई सिबिपी होम एपमा रूपान्तरण गरेको छ । आप्रवासीहरूलाई स्वेच्छिक रूपमा एप प्रयोग गरेर आत्म-निर्वासनको प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
साथै बाइडेन प्रशासनद्वारा विस्तार गरिएको अस्थायी संरक्षक अवस्था (दर्जा) पनि केही देशका नागरिकका लागि खारेज गरिएको छ, जसमा ६ लाखभन्दा बढी भेनेजुएलाली प्रभावित छन्। टिपीएस अन्तर्गत रहेका व्यक्तिलाई अमेरिकामा बस्ने अनुमति र काम गर्ने अधिकार मिल्थ्यो।
ट्रम्प प्रशासनको यो कदमले कडाईपूर्ण आप्रवासन नीति कार्यान्वयनको संकेत दिएको छ, जसमा गैरकानुनी बसोबास, सामाजिक लाभको दुरुपयोग, र “झूटो परिचय” प्रयोग गर्ने विरुद्ध विशेष अभियान चालिएको छ।
प्रतिक्रिया