ट्रम्पको कठोर चेतावनी: चीनमाथि १०४% थप कर लागू

इनेप्लिज २०८१ चैत २६ गते १०:०६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनमाथि थप १०४% आयात कर (ट्यारिफ) लागू गरेको घोषणा गरेको छ। ट्रम्पका प्रेस सचिव क्यारोलिन लेभिटले गत मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिँदै भनिन्, “चीन अमेरिकासँग सम्झौता गर्न चाहन्छ, तर सुरु कसरी गर्ने भन्ने थाहा छैन।”

राष्ट्रपति ट्रम्पले चीनलाई दिइएको मंगलबार दिउँसो १२:०० बजेको अन्तिम म्यादसम्म प्रतिकारात्मक भन्सार शुल्क हटाउन असफल भएपछि यो निर्णय गरिएको हो। ट्रम्पले भने चीन सम्झौता गर्न निकै आतुर छ, तर प्रतिकार गर्नु ठूलो गल्ती हो।

अमेरिका माथि प्रहार भयो भने अझ झन कडा जवाफ दिने उनले बताए । यो कर गत मंगलबार राति १२ बजेबाट लागू हुने बताएका थिए । ट्रम्प प्रशासनको ‘प्रतिस्पर्धात्मक कर नीतिअनुसार’ यसअघि नै चीनमाथि थप कर लाग्ने अपेक्षा गरिएको थियो, तर अब १०४% कर थपिएको हो।

यदि चिनियाँ राष्ट्रपति शी जिनपिङ सम्झौता गर्न चाहन्छन् भने ट्रम्प ‘दयालु’ हुने पनि लेभिटले उल्लेख गरिन्। चीनले हालै अमेरिकाबाट आयात हुने वस्तुहरूमा ३४% कर लगाएको छ ।

ट्रम्प प्रशासनले चीनको गैर-बजार नीतिले विश्वभर निर्माण क्षेत्रमा प्रभुत्व जमाएको र अमेरिकाको उद्योगलाई ध्वस्त पारेको आरोप लगाएको छ। यसैबीच, चिनियाँ निर्माताहरूले मुनाफा घट्ने भन्दै विदेशी कारखाना खोल्ने योजना बनाइरहेको बताइएको छ।

प्रतिक्रिया