प्रहरीले गलत रवैया र हर्कतबीच सभापति लामिछानेलाई नियन्त्रणमा लियो रास्वपा

इनेप्लिज २०८१ चैत २६ गते १०:०७ मा प्रकाशित

सभापति रवि लामिछानेलाई गत शुक्रबार प्रहरीले पक्राउ गर्न जाँदा अस्वाभाविक, अशोभनीय र गैरकानुनी हर्कत देखाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाहीका लागि मानव अधिकार आयोग गुहारेको छ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुली, बागमती प्रदेश सभापति अच्युतम लामिछाने सहितका नेताहरू बुधबार मानवअधिकार आयोग पुगेर कारबाहीका लागि निवेदन दिएका हुन्।

शुक्रबार राति सभापति लामिछानेको निवासमा ठूलो संख्यामा हतियार सहितका प्रहरी परिचालन गरिएको, बिनाअनुमति सुरक्षाकर्मी घर कम्पाउण्ड भित्र प्रवेश गरेको र बिना कुनै कागजात वा कानुनअनुसार जारी हुनुपर्ने पक्राउ पूर्जी बेगर प्रहरी पुगेको रास्वपाले बताएको छ।

‘साँझको समय भएकोले उहाँ परिवारसहित शयन कक्षमा हुनुहुन्थ्यो। त्यति बेलासम्म उच्च अदालतको आदेशबारे मिडियामा समाचार आइसकेकाले उहाँले अदालतको आदेशको सम्मान गर्दै आफैं गिरफ्तारी दिने घोषणा गरिसक्नु भएको थियो। तर, प्रहरी टोली घरको बैठक कोठा वा प्रतिक्षा कक्षमा नगई, त्यहाँ बस्न आग्रह गर्दासमेत अटेर गरी सिधै माथिल्लो तलामा भएको शयन कक्षमै पुगेर धरपकड गर्न थालियो,’ रास्वपाले मानव अधिकार आयोगसमक्ष दिएको निवेदनमा उल्लेख छ।

पक्राउका लागि गएका प्रहरीसँग उच्च अदालतको प्रमाणित आदेश वा सो आदेश कार्यान्वयनका लागि प्रक्रिया पुगेको कुनै कागजात नभएको र घर–कम्पाउण्ड प्रवेश गर्ने सर्च वारेन्ट वा पक्राउ गर्ने सामान्य पूर्जी पनि प्रहरीसँग नभएको रास्वपाले बताएको छ।

‘प्रहरीको व्यवहार र बोली असामान्य, अस्वभाविक मात्र होइन आपत्तिजनाक नै थियो। प्रहरीले गलत रवैया र हर्कतबीच नै सभापति लामिछानेलाई नियन्त्रणमा लियो। उच्च अदालतको आदेश जिल्ला अदालत रुपन्देहीलगायतका कार्यालय बन्द भइसकेपछि राति आएको थियो उक्त आदेश जिल्ला अदालत पुग्न र जिल्ला अदालतले सभापति लामिछानेलाई पक्राउ गर्ने प्रक्रिया सुरु गर्न कार्यालय खुल्ने दिन र समय ( चैत २५ गते बिहान १० बजे) सम्म पर्खिनु पर्ने थियो। तर, प्रहरीले जिल्ला अदालतले पूरा गर्नुपर्ने प्रक्रियासमेत ख्याल गरेन। सभापति लामिछानेलाई आफैं अग्रसर भएर पक्राउ गर्‍यो,’ रास्वपाले भनेको छ थप भिडियो मा

बेद प्रसाद घिमिरे

प्रतिक्रिया