राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको पछिल्लो भन्सार शुल्क (ट्यारिफ)पछि चीनले अमेरिकामाथि कडा प्रतिक्रिया दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार पत्रकार सम्मेलनमा भने, “चीन दृढ र कडा कदम चाल्नेछ। हाम्रो सार्वभौमिकता, सुरक्षा र विकासलाई कसैले पनि हानी पुर्याउन सक्दैन।”
उनले भने, “हामी बहुपक्षीयता र समावेशी विश्वव्यापीकरणको समर्थन गर्न सबै पक्षहरूसँग सहकार्य गर्न तयार छौँ। चीनका जनताहरूको वैध विकास अधिकार कसैले खोस्न सक्दैन।”
लिनले चीन कुनै पनि एकपक्षीयता, संरक्षणवाद र जोखिमपूर्ण नीतिहरूको विरोध गर्ने र साँचो बहुपक्षीयतालाई सुदृढ गर्न चाहने बताएका छन्। साथै, उनले विश्वव्यापी आर्थिक स्थिरता र साझा हितको पक्षमा उभिनुपर्नेमा जोड दिए।
“भन्सार शुल्कले ढुवानी लागत बढाउँछ, मुद्रास्फीति बढाउँछ, र विश्व स्थिरता खल्बल्याउँछ,” उनले चेतावनी दिँदै भने, “यसले आफैं अमेरिकालाई पनि चोट पुर्याउँछ।”
चीनले अमेरिकी कदमलाई “गलत निर्णय” भन्दै त्यसलाई सच्याउन आग्रह गरेको छ।
राष्ट्रपति ट्रम्पको प्रशासनले अप्रिल ९ मा चीनमाथि थप १०४% भन्सार शुल्क घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो। यद्यपि ट्रम्पले चीन सम्झौताका लागि आतुर रहेको बताएका थिए, चीनले भने आफूलाई दबाबमा पार्ने प्रयास सहन नसकिने स्पष्ट रूपमा जनाएको छ।
प्रतिक्रिया