स्वेच्छिक देशनिकाला बढ्दै: ट्रम्प प्रशासनको अभियानले हजारौं अवैध आप्रवासी अमेरिका छाड्न तयार

इनेप्लिज २०८१ चैत २६ गते २२:२१ मा प्रकाशित

अमेरिकाबाट निष्कासनको सामना गरिरहेका हजारौं अवैध आप्रवासीहरू आफैँ स्वेच्छिक रूपमा देश छाड्न तयार भएका छन्। अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सिबीपी) ले तयार गरेको घुम्तीयन्त्र अनुप्रयोग अर्थात् मोबाइल एप ‘सिबीपी होम’ प्रयोग गरी गत महिना भरिमा अमेरिकी गृह सुरक्षा विभागका अनुसार ५,००० भन्दा बढी आप्रवासीहरूले स्वेच्छिक रूपमा देश छाडेका छन् ।

प्रशासनले हालै “अवैध आप्रवासीहरू” लाई लक्षित गर्दै एउटा चेतावनीमूलक ध्वजा (फ्लायर )सार्वजनिक गरेको छ, जसमा निष्कासन आदेशपछि पनि बसिरहेमा प्रति दिन ९९८ डलर जरिवाना लाग्ने उल्लेख गरेको छ।

ध्वजामा भनिएको छ, “स्वेच्छिक देशनिकाला (डिपोर्टेसन )सुरक्षित छ। आफैंले टिकट छानेर आफ्नो सर्तमा अमेरिका छाड्न सक्नुहुन्छ।”

अमेरिका फस्ट लिगलका वरिष्ठ सल्लाहकार जेम्स रोजर्सका अनुसार, स्वेच्छिक देशनिकाला अभियान प्रभावकारी भइरहेको बताए । उनका अनुसार, “अघिल्ला प्रशासनहरूले आप्रवासन कानूनलाई कमजोरीपूर्वक लागू गरेकै कारण आज यति ठूलो संख्यामा अवैध आप्रवासीहरू अमेरिका भित्र छन्।”

राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयं एक श्रब्यदृश्य (भिडियो)मार्फत आप्रवासीहरूलाई सिबीपी होम एप प्रयोग गरी स्वेच्छिक रूपमा अमेरिका छाड्न आग्रह गरेका छन्। उनले चेतावनी दिदै भनेका छन् “जो स्वेच्छिक रूपमा जान चाहँदैनन्, उनीहरू फेला पारिने छन्, निष्कासित गरिने छन्, र फेरि अमेरिका प्रवेश गर्न कहिल्यै पाइने छैन।”

सिबीपिअनुसार, स्वेच्छिकरूपमा जानेहरूले कमाइरहेको पैसा राख्न सक्ने, भविष्यमा वैध आप्रवासनको अवसर पाउने, र आर्थिक सहयोग समेत प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया