आईसीई गुप्तचर रू र अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टि नोएमलाई सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की दिएका टेक्सस निवासी ३५ वर्षीय रोबर्ट किङलाई झ्यालखाना मै राखिने भएको छ।
बुधबार ड्यालसमा भएको थुनछेक सुनुवाइपछि अमेरिकी संघीय न्यायाधीश रेनी टोलीभरले किङलाई जमानत नदिई हिरासतमा नै राख्न आदेश दिइन्।
न्यायाधीशका अनुसार, किङ “समाजका लागि खतरा” र “फरार हुन सक्ने सम्भावना” भएका कारण यो निर्णय गरिएको हो। यद्यपि उनका वकिलले किङको कुनै आपराधिक अभिलेख नरहेको, हतियार नराखेको र मानसिक स्वास्थ्य समस्याका लागि उपचार गराइरहेको तर्क गरेका थिए।
किङलाई मार्च २९ मा म्याक्किनी, टेक्ससबाट पक्राउ गरिएको थियो। उनले सामाजिक संजाल मुहारपुस्तिका (फेसबुक)मा आइसिइ गुप्तचर र गृह सचिव नोएमविरुद्ध हिंसात्मक प्रकाशनहरू गरेका थिए।
एक प्रकाशन (पोस्ट)मा उनले नोएमलाई “नाजी अपराधी” भन्दै घृणास्पद मृत्युकामना गरेका थिए । त्यस्तै अर्को प्रकाशनमा उनले यस्तो भनेका थिए, “यदि मेरो छिमेकमा आइसिई आयो भने म गोली चलाउनेछु। उनीहरू कुनै कानुनी अधिकारविना चल्ने गुप्त प्रहरी हुन्।”
संघिय अभियोजकहरूका अनुसार उनका ती प्रकाशन (पोस्ट)हरू एफबीआईको गुप्तसूचना मार्फत पत्ता लागेका थिए। हाल किङ काउफम्यान काउन्टीको कारागारमा रहेका छन्। उनका वकिलले उनलाई मानसिक स्वास्थ्य उपचार र औषधिको पहुँच हुने ठाउँमा सार्न आग्रह गरेका छन्।
प्रतिक्रिया