“चीनले भन्यो– वार्ताको ढोका खुला छ, ट्रम्पको नयाँ भन्सार रणनीति पछि अमेरिका र चीनबीचको तनाव नयाँ चरणमा”

इनेप्लिज २०८१ चैत २७ गते १४:११ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य देशहरूमा लागू गरिने उच्च भन्सार दरलाई रोक लगाएको घोषणा गरेपछि चीनले बिहीबार प्रतिक्रिया दिंदै वार्ताको ढोका खुला रहेको बताएको छ। 

चीनको वाणिज्य मन्त्रालयकी प्रवक्ता हे  योगक्विएनले भनिन्, “चीनको स्थिति स्पष्ट छ— संवाद बराबरीका आधारमा आपसी सम्मानसाथ हुनुपर्छ। धम्की, दबाब वा ब्ल्याकमेल( भयादोहन) चीनसँग व्यवहार गर्ने सही तरिका होइन।”

राष्ट्रपति ट्रम्पले बुधबार सबै देशहरूका लागि लागू हुने १०% सार्वभौमिक भन्सार कायम राख्दै चीनमाथिको भन्सार दर १०४% बाट बढाएर १२५% पुर्‍याउने निर्णय गरेका थिए। यो निर्णय बिहीबारदेखि लागु भएको हो, ठीक त्यही समयमा चीनले पनि अमेरिकी सामानमाथि ८४% भन्सार लगाएको घोषणा गर्‍यो।

हे ले जोड दिदै भनिन, “चीनले कहिल्यै समस्या सिर्जना गर्दैन, तर डराउँदैन पनि। हाम्रा विकासका वैध अधिकार कसैले खोस्न सक्दैन।”

यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले अझ कडा भाषा प्रयोग गर्दै अमेरिकालाई चुनौती दिएको छ ।

प्रवक्ता लिन जियानले भने, “अमेरिकाको अविवेकी कदम जनताको इच्छाविरुद्ध छ र अन्ततः असफल हुनेछ। व्यापार युद्धमा कसैले जित्दैन। चीन व्यापार युद्ध चाहँदैन, तर डराउँदैन पनि। यदि अमेरिका अगाडि बढ्न अडिग रहन्छ भने, चीन अन्तिमसम्म लड्नेछ।”

राष्ट्रपति डोनालिड ट्रम्पले भने, “चीनसँग सहमति गर्न सकिन्छ भन्ने मलाई विश्वास छ।”

प्रतिक्रिया