अमेरिकाले चीनमाथि अस्वाभाविक रूपमा उच्च भन्सार शुल्क लगाएको जवाफस्वरूप, चीनले अमेरिकी सामानहरूमा भन्सार शुल्क बढाएर १२५% पुर्याउने घोषणा गरेको छ। चीनको वित्त मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो कदम चालिएको स्पष्ट पारेको हो।
वित्त मन्त्रालयका अनुसार, हालसम्म ८४% रहेको भन्सार शुल्क अब शनिबारदेखि लागू हुनेगरी १२५% मा पुर्याइनेछ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसै हप्ता चीनबाट आयात गरिने सामानमाथिको भन्सार शुल्क वृद्धि गरे पछि अहिले १४५% पुगेको छ।
यसको प्रतिक्रियामा चीनको विज्ञप्तिमा भनिएको छ, “हालको भन्सार स्तरमा अमेरिकी वस्तुहरूको चीनको बजारमा कुनै स्वीकार्यता छैन। यदि अमेरिका यस्तैगरी चीनबाट आयात हुने वस्तुहरूमा भन्सार बढाउन जारी राख्छ भने, चीनले त्यसलाई बेवास्ता गर्नेछ।”
यो निर्णयले विश्व व्यापार सम्बन्धमा थप तनाव ल्याउने संकेत गरेको छ। दुई ठूला अर्थतन्त्रबीच बढ्दो व्यापार युद्धले वैश्विक बजारलाई समेत असर गर्न सक्छ।
प्रतिक्रिया