चीनका राष्ट्रपति शी जिनपिङले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार शुल्कले अमेरिका अन्तर्राष्ट्रिय समुदायबाट अलग हुन पुग्ने चेतावनी दिएका छन् ।
बेइजिङमा स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजसँगको भेटमा शीले भने, “भन्सार युद्धमा कुनै विजेता हुँदैन, र संसारविरुद्ध जानुले केवल आत्म–एकान्तता निम्त्याउँछ।”
चिनिया सरकारी सञ्चार संस्था सिन्ह्वाका अनुसार शीले अगाडी भने, “७० वर्षभन्दा बढी समयदेखि चीनको विकास आत्मनिर्भरता र कडा मेहनतमा आधारित रहँदै आएको छ। चीनले कहिल्यै अरुको दानमा भर परेन, न त कुनै अनुचित दमनको डर नै राख्छ।”
शीले जोड बदिँदै भने, “बाह्य परिस्थिति जेसुकै भए पनि चीन दृढ आत्मविश्वासका साथ आफ्नै काममा केन्द्रित रहनेछ।”
यसै क्रममा उनले युरोपेली संघसँगको सम्बन्ध सुधार्ने संकेत पनि दिए। कोभिड महामारी र युक्रेन युद्धको कारण बिग्रिएको चीन–युरोप सम्बन्ध ट्रम्पको पुनरागमन र व्यापारिक भन्सार युद्धबीच नयाँ सम्भावनातर्फ उन्मुख भएको शीको संकेत थियो।
“चीनले सधैं युरोपेली संघलाई बहुध्रुवीयविश्वको एक महत्त्वपूर्ण शक्ति मानेको छ,” शीले भने। उनले थपे, “चीन र युरोपले शान्ति, विकास, सुधार र सभ्यताको चार महत्त्वपूर्ण साझेदारी निर्माणमा संयुक्त रूपमा अघि बढ्नुपर्छ।”
शीको स्पष्ट सन्देशको अर्थ चीन र युरोप खुला सहकार्यका सिद्धान्तमा अडिग रहनुपर्छ भन्ने आशय हो ।
प्रतिक्रिया