विश्वकै धनाढ्य व्यक्ति इलन मस्कको १२ फिट अग्लो मूर्ती टेक्ससमा तोडफोड गरिएको छ ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत(सिईओ) इलन मस्कको विशाल शिल्पमा तोडफोड गरिएको पुष्टि भूमि स्वामी एलेजार भिल्लाफ्रान्काले एबीसी न्यूजलाई गरेका हुन्।
निर्माण व्यवसायमा संलग्न रहेका भिल्लाफ्रान्काका अनुसार, शनिबार धेरै माल बाहक ( ट्र्क )चालकहरूले उनलाई दूरवार्ता गरी मूर्तीमा क्षति पुगेको बताएका थिए। सोमबार स्थानमा पुगेपछि उनले शिल्पको आँखा, चिउँडो र पछाडि गहिरा चिराहरू देखेका थिए।
“तीन वा चार ठाउँमा चक्कु प्रयोग गरेर काटिएको छ,” भिल्लाफ्रान्काले एबीसी न्यूजलाई भने।
उनका अनुसार यो शिल्प झण्डै १२ फिट अग्लो छ र रबर जस्तो देखिने सामग्रीबाट बनेको हो।
शिल्प बनाउने कलाकार फ्रान्सका हुन् र भिल्लाफ्रान्काका साथी पनि हुन्। उनले उक्त शिल्प आफ्नो जमिनमा राख्न भिल्लाफ्रान्कालाई अनुरोध गरेका थिए र झण्डै एक वर्षदेखि त्यहीँ राखिएको छ।
भिल्लाफ्रान्काले कलाकारलाई सम्पर्क गर्न प्रयास गरेका तर अहिलेसम्म जवाफ नपाएको बताएका छन्। अर्का एक कलाकारले भने शिल्प मर्मत गर्ने सहमति दिएका छन्।
उनले यो तोडफोडबारे सम्बन्धित निकायलाई जानकारी दिइसकेको र उजुरी पनि दर्ता भइसकेको जनाएका छन् ।
प्रतिक्रिया