कविता: सडकको ब्यथा

मदन बस्नेत, टोरोन्टो २०८१ चैत २९ गते २:५६ मा प्रकाशित

शिक्षक सडकमा

बिद्यार्थी सडकमा

पार्टी सडकमा

नेता सडकमा

किसान सडकमा

उपभोक्ता सडकमा

वकिल सडकमा

झगडिया सडकमा

अधिकारविहीन सडकमा

अधिकारकर्मी सडकमा

प्रतिपक्ष सडकमा

सत्तापक्ष सडकमा

राजाबादी सडकमा

राजा बिरोधी सडकमा

सहकारी ठग सडकमा

सहकारी पीडित सडकमा

ऋणी सडकमा

बैंक डिफल्टर सडकमा

देशभक्त सडकमा

देशद्रोही सडकमा

ब्यबसायी सडकमा

सेवाग्राही सडकमा

उद्योगी सडकमा

मजदुर सडकमा

डाक्टर सडकमा

बिरामी सडकमा

कलाकर्मी सडकमा

पेशाकर्मी सडकमा

महिला सडकमा

बालबालिका सडकमा

युवा सडकमा

वयोवृद्ध सडकमा

प्रहरी सडकमा

मिलिटरी सडकमा

सभा सडकमा

सम्मेलन सडकमा

भेला सडकमा

मेला सडकमा

आन्दोलन सडकमा

ताण्डव सडकमा

प्रदर्शन सडकमा

प्रहसन सडकमा

हैन यति विघ्न अत्याचार

त्यो सडकमाथि किन ?

के सडकले शान्तसंग

बस्न पाउँदैन ?

बीच बाटोमा गाडी गुडोस

छेउका दुई किनाराबाट

मान्छे हिंडुन्

उ आफ्नै तालमा

आफ्नै चालढालमा

निर्धक्क बस्न किन पाउँदैन ?

समस्या तिम्रा अनि

सुनिदिनु पर्ने चैं सडकले ?

अप्ठेरा तिम्रा अनि

सहनु पर्ने चैं सडकले ?

जसले समस्या खडा गर्यो

जाउ उसैलाई सुनाउ

जसले तिमीलाई अदेखा गर्यो

जाउ उसैको ठेगानामा कराउ

अरुलाई सुनाउने चक्करमा

सडकमाथि अतिक्रमण किन ?

स्वतन्त्रतापूर्वक बस्न पाउने

उसको क्षेत्राधिकारमा

चौतर्फी आक्रमण किन ?

आफ्नो स्वार्थसिद्ध गर्न

सडकमा अड्डा जमाउनेहरुले

कुर्ली कुर्ली नारा उछालेर

सडकलाई अशान्त तुल्याउनेहरुले

उसले भोग्नु परेको पीडा

बर्षाौदेखी खप्नु परेको ब्यथा

अलिकता भएपनि

बुझ्ने चेष्टा गरुन्

उसको ब्यथालाई आफ्नै ठानेर

एकै क्षण मनन गरून्

घोत्लिउन् राम्ररी महसुस गरुन्

कहाँ गएर गरोस्

उ आफ्नो गुनासो

कसलाई भेटेर सुनावस्

उसले भोग्नु परेको दुखेसो

कहाँ गएर गुहारोस्

उसले बेहोर्दाको बिपत्ति

को होला सहयोग गर्ने

दया जागेर उसमाथि ?

मदन बस्नेत, टोरोन्टो।

प्रतिक्रिया