ट्रम्प प्रशासनको नयाँ रणनीति: आप्रवासीलाई अङ्किय (डिजिटल )मृत घोषणा गर्दै स्वेच्छिक निष्कासनमा दबाब

इनेप्लिज २०८१ चैत २९ गते १०:२२ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अस्थायी रूपमा वैध हैसियतमा रहेका हजारौँ आप्रवासीहरूको सामाजिक सुरक्षा संख्या (एसएसएन) खारेज गर्न थालेको छ। सिबिएसन्यूजका अनुसार सामाजिक सुरक्षा प्रशासनले ती आप्रवासीहरूलाई ‘मरेका’ को सूचीमा राख्दै उनीहरूको कानुनी र वित्तीय पहिचान नष्ट गरिरहेको छ।

सिबिएसले तीन स्रोतहरूको उल्लेख गर्दै पहिले ‘डेथ मास्टर फाइल’ अर्थात् मृतक विवरण सूची भनिने मिसिल (फाइल)लाई ‘इनएलेजिबल मास्टर फाइल’ अर्थात् अयोग्य व्यक्तिहरूको मुख्य सूचीमा परिवर्तन गर्दै हजारौँ आप्रवासीहरूको नाम झूटो मृत्यु सहित दर्ता गरिरहेको छ। यसले उनीहरूको सामाजिक सुरक्षा संख्या अमान्य बनाइदिन्छ, जसले बैंक, वितिय प्रतिष्ठान (क्रेडिट कम्पनी)हरू, र अन्य सेवाहरूमा पहुँच बन्द गराउँछ।

६,००० भन्दा बढी आप्रवासीहरू जो पूर्व राष्ट्रपति जो बाइडेनको परोल(अस्थायी प्रवेश अनुमति)कार्यक्रम अन्तर्गत आएका थिए । यो सूचीमा पहिलो चरणमा थपिएका हुन्। ह्वाइट हाउसका अनुसार, “आर्थिक प्रलोभनले आएका अवैध आप्रवासीहरूलाई निष्कासन गर्न दबाब दिने” उद्देश्यले यो कदम चालिएको हो।

प्राप्त जानकारी अनुसार, सूचीमा परेका आप्रवासीहरूमध्ये केहीमाथि आपराधिक आरोप वा आतंकवादी सञ्जालसँग सम्बन्ध रहेको डिएचएसको दाबी छ।

डेमोक्र्याट नेताहरू र सामाजिक सुरक्षा कर्मचारीहरूले यो कदमलाई गंभीर संवैधानिक उल्लंघन भन्दै विरोध गरेका छन्।

प्रतिक्रिया