अमेरिकी भन्सार महसूलले मानवीय सङ्कट निम्त्याउन सक्छ : चीनको डब्लुटीओलाई चेतावनी

इनेप्लिज २०८१ चैत २९ गते १७:२७ मा प्रकाशित

चीनले विश्व व्यापार संगठनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिका कारण विश्वव्यापी मानवीय संकट उत्पन्न गर्न सक्ने खतराको चेतावनी दिएको छ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनाव झनै चर्किँदै गएको सन्दर्भमा, चीनका वाणिज्य मन्त्री वाङ वेनटाओले शुक्रबार विश्व व्यापार संगठनका महानिर्देशकसँगको भर्चुअल(परोक्ष -जुम) बैठकमा गम्भीर चिन्ता व्यक्त गरे।

वाङले अमेरिकी “पारस्परिक कर ” हरूले विकासशील राष्ट्रहरू, विशेषगरी सबैभन्दा कमजोर राष्ट्रहरूलाई अत्यधिक क्षति पुर्‍याउने बताएका छन्। चीनको वाणिज्य मन्त्रालयद्वारा जारी वक्तव्य अनुसार यी शुल्कहरूले विश्व बजारमा अनिश्चितता र अस्थिरता फैलाएका छन् जसको असर गरिब जनसंख्यामा गम्भीर रूपले पर्न सक्छ।

वाङले डब्लुटिओ सदस्य राष्ट्रहरूलाई एकताबद्ध भएर एकपक्षीयता, संरक्षणवाद र आर्थिक दादागिरीको विरोध गर्न आग्रह गरे।

चीनसँगै रूसले पनि अमेरिकी व्यापार नीतिहरूको आलोचना गरेको छ। रूसका विदेशमन्त्री सेर्गेई लावरोभले डब्लुटिओलाई अमेरिकाको नेतृत्वमा पक्षघात “पारालाइज” भएको बताएका छन् । निष्पक्ष व्यापार सम्झौताहरूको आवश्यकता औंल्याएका छन्।

टर्कीमा आयोजित एक मंचमा बोल्दै लावरोभले भने, “हाल देखिएको शुल्क युद्धले विश्व व्यापारमा ठूलो परिवर्तन ल्याउनेछ। धेरै देशहरू अमेरिकासंग सिधा वार्ता गर्न चाहन्छन्।”

उनले शान्तिपूर्ण सम्झौता र आपसी सन्तुष्टिका माध्यमबाट समस्याको समाधान खोज्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया