नेपाल बज्रयान महाबिहार, लुम्बिनीको चक्रेश्वर गुरु डा.नरेशमान बज्राचार्यको निर्देशनमा, गुरु वज्राचार्य संघ, अमेरिकाको आयोजना तथा अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघ, मेरिलाण्डको सहयोगमा, अमेरिकामा दोस्रो पटक अप्रिल ४,५ देखि ८ तारिख सम्म बज्रधातु चैत्यको समिपमा प्रवज्या संवर (बरे छुयेगु) संस्कार सम्पन्न भयो ।
७ बर्षीय यज्ञ मान शाक्य जुनियर र ४ बर्षीय सुप्रनित मान शाक्य बालकहरुद्वारा भाग लिइएको यस पवित्र कार्यक्रम मेरिलाण्डको जर्मनटाउनमा अवस्थित पशुपति बौद्ध मन्दिर (एनइसीसि) को प्राङ्गणमा अप्रिल ४ तारिखको दिन दुस्वः (ग्वय्दाँ तयगु) पुजाबाट शुरु भएको थियो र अप्रिल ५ तारिखको दिन मुख्य कार्यक्रम पूर्णा पुजा (प्रवजित हुने दिन) करिब ७५ जना पाहुनाहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।
नेवा बौद्ध बज्रयान परम्परा अनुसार गरिएको यस पूजाको संचालन मूलाचार्य गुरुजुमा मेरिलाण्डबाट यज्ञ मान शाक्य बज्र र उपाध्याय गुरुजुमा टेक्ससबाट उत्तम बज्राचार्य गुरुजु आउनु भई पुजा संचालन गरिएको थियो । ५ तारिखका दिन ३ जना गुरुजुहरु मेरिलाण्डबाट पद्म बज्राचार्य, स्वयम्भू राज बज्राचार्य र रोजीन बज्राचार्य समेत गरि ५ जना गुरुजुहरुबाट प्रव्रजित हुने बालकहरुलाई अभिषेक दिनु भई प्रवजित बोधिसत्व भिक्षु बनाउनु भएको थियो ।
प्रव्र्रजित बोधिसत्व भिक्षुहरुलाई बाजागाजाको साथमा देश परिक्रमा गर्ने परम्परा अनुसार मन्दिर परिसरमा परिक्रमा गरिएको थियो । परम्परागत बाजागाजाको लागि जयम्बु रंजित, लुजला रंजित र महिन्द्र प्रधानबाट स्वयम सेवक तथा सहयोग गर्नु भएको थियो ।
प्रव्रजित ४ दिन अवधिको सिलसिलामा ६,७ र ८ तारिखका दिन बिहान ८ बजे देखि ११ बजेसम्म प्रव्रजित भिक्षुहरु बिभिन्न शहरहरु रकभिल, सिल्भर स्प्रिङ्ग, फेड्ररिक, जर्मनटाउन, गेथर्सबर्ग तथा एलिकट सिटि शहरहरुमा उपस्थित भई प्रत्येक दिन ७ घरमा भिक्षाटन (भिक्षा) को लागि लगिएको थियो भने विभिन्न बौद्ध विहारहरुमा पनि लगि श्रद्धेय भिक्षुहरुबाट त्रि–शरणगमन र दशशील ग्रहण गरि आर्शिवाद पनि लिनुभएको थियो ।
अप्रिल ८ तारिख चीवर परित्याग गर्ने अन्तिम दिन बिधिवत रुपमा चैत्यको समिपमा पूजा गरि प्रव्रजित बोधिसत्व भिक्षुहरुले मुलाचार्य गुरुजु सामु प्रार्थना गरि प्रव्रजित बोधिसत्व भिक्षु जीवन त्यागेर गृहस्थ बोधिसत्व भिक्षु जीवनमा विधिपूर्वक फिर्ता लगिने कार्यक्रम मेरिलाण्ड राज्यको एलिकट सिटीमा सम्पन्न भयो ।
सोहि दिन भिक्षुहरुको कपाल पनि फुपुले खोलामा लगि बगाई दिने कार्यक्रम पनि सम्पन्न भयो । यो भन्दा अगाडि २०२५ मार्च ६ देखि १० तारिख सम्म गुरु बज्राचार्य संघ, अमेरिकाद्वारा टेक्ससमा पहिलो पटक सामुहिक प्रव्रज्या संवर कार्यक्रमको आयोजना सम्पन्न गरिएको थियो ।
दुबै दिन कार्यक्रमको ईनेप्लीजद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो । यस कार्यक्रमको फोटोग्राफ्रि तथा भिडियोग्राफ्रि फोटो बैंकका राजीव श्रेष्ठ, समृद्ध श्रेष्ठ र समिधा श्रेष्टबाट कैद गरिएको थियो ।
आमन्त्रित वाशिंङ्गटन डि.सी. क्षेत्रका विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागीता थियो । अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघको तर्फबाट संयोजन प्रबिन ताम्राकारले गर्नु भएको थियो ।
नेपाली समुदायका सदस्यहरु समिर मोक्तान, ईजन श्रेष्ठ, जोन क्रिस, सगिना श्रेष्ठ, समिधा श्रेष्ठ, हिना बज्राचार्य, सविना सुवाल, सुष्मा महर्जन, लक्ष्मी रंजीत, रंजिता श्रेष्ठ, शान्ति श्रेष्ठ, रेश्मी ताम्राकार, दिपा ताम्राकार, रमिता महर्जन, रीता सिं, मगन श्रेष्ठ, अनु जोशीहरुबाट सकृय स्वयम सेवा तथा सहयोग गर्नुभएको थियो ।नेवाः बुद्ध धर्म परंपरा अनुसार शाक्य र बज्राचार्य परिवारका छोराहरुलाई अनिबार्यरुपमा प्रवज्यासंवर प्रदान गरिने (वरे छुयगु) बौद्ध धार्मिक तथा सांस्कृतिक प्रचलन हो ।
यसरी प्रव्रजित गर्ने भनेको विधिवत रुपमा बुद्धको दर्शन गराउनु हो, प्रारम्भिकरुपमा बुद्ध धर्ममा दीक्षित गराउनु र बुद्धधर्मको संघमा प्रवेश गराउनु हो । छोटो समय भएपनि प्रव्रज्या संवर भनेको भिक्षु बनाउनु नै हो । भिक्षु हुने व्यक्ति समाज र देशबाट वन्दनीय (वन्दना गर्न लायक) हुन्छ ।
नेवाःबौद्ध समाजमा प्रवज्यासंवर (वरे छुयेगु) भनेको प्रव्रजित बोधिसत्व भिक्षु परम्परा हो । चलन चल्ति अनुसार ४ दिनसम्मको मात्रै भएपनि प्रव्रजित बोधिसत्व भिक्षु जीवन अपनाईन्छ । चौथो दिनमा प्रव्रजित भिक्षु जीवन त्यागेर “गृहपति (गृहस्थ) बोधिसत्व भिक्षु” मा प्रवेश गराई बोधिसत्वचर्या पालन गरि बसिन्छ । यसरी गर्नुको मूल उद्देश्य “बुद्धो भवेयं जगतो हिताय” जगतहितको निम्ति आपूm पनि बुद्ध हुन सकुन भन्ने नै हो ।
यसरी प्रवज्यासंवर (वरे छुयगु) को निम्ति विधिवत स्थापना गरिएका विहार (बाहा–बही) हुनु अति आवश्यक छ । त्यहाँ संघ (सर्वसंघ) हुनु पर्दछ । त्यहि संघबाट बिहारमा प्रवजित (वरे छुयेगु) गरिदिइन्छ । जसबाट त्यो बालकपनि भिक्षु संघमा प्रवेश हुन्छ, संघ सदस्य हुन्छ ।
विहार र संघ विना प्रवज्यासंवरको कुनै अर्थ हुँदैन, मान्यता हुँदैन । विहारमा प्रव्रजित गर्ने अवस्था नभएको अवस्थामा विधिवत स्थापना गरिएको चैत्य (चिभाद्यो) को प्रमुख विषय बनाई संघबाट प्रव्रजित गरि भिक्षु बनाईन्छ । यसरी चैत्यको समिप प्रव्रजित हुनेहरुलाई “चैलक भिक्षु” (चिभा वरे) भनेर बौद्ध मान्यता दिइएको छ ।
प्रतिक्रिया