सुडानको डारफुर क्षेत्रमा एक कुख्यात अर्धसैनिक समूहले गरेको दुईदिने आक्रमणमा कम्तीमा १०० भन्दा बढी मानिसको ज्यान गएको छ। संयुक्त राष्ट्रसंघकी सुडानस्थित मानवीय संयोजक क्लेमेन्टिन न्क्वेटा-सलामीले मारिनेहरूमध्ये २० बालबालिका र ९ जना राहतकर्मी भएको जानकारी गराइन् ।
र्यापिड सपोर्ट फोर्स (आरएसएफ)र त्यससँग आवद्ध मिलिशिया(नागरिक सैनिक)हरूले जमजम र अबु शोरुक शिविर तथा नजिकैको अल-फाशेर शहरमा शुक्रबार आक्रमण गरेका थिए। अल-फाशेर उत्तर डारफुर प्रान्तको राजधानी हो र हालसम्म सैन्य सरकारको नियन्त्रणमा छ। सुडान दुई वर्षदेखि गृहयुद्धमा डुबेको भने हालसम्म २४,००० भन्दा बढी मानिस मारिइसकेका छन्।
शनिबार पनि ती शिविरहरूमा पुन: आक्रमण भएको न्क्वेटा-सलामीले बताइन्। उनका अनुसार जमजम शिविरमा सञ्चालनमा रहेको थोरैमध्ये एक स्वास्थ्य केन्द्रमा कार्यरत ९ जना राहतकर्मीको हत्या गरिएको हो।
सुडानको चिकित्सक संघका अनुसार जमजम अस्पताल माथि गरिएको आक्रमणमा चिकित्सक महमूद बाबाकर इद्रिस र एडम बाबाकर अब्दाल्लाहसहित ६ चिकित्सा कर्मचारी मारिएका थिए। संघले यो घटनाका लागि आरएसएफलाई दोष दिएको छ र यसलाई “अमानवीय र आपराधिक कार्य” भनेको छ।
यस आक्रमणका कारण करिब २,४०० मानिस जमजम, अबु शोरुक र अल-फाशेर छाडेर भाग्न बाध्य भएका छन्। यी दुई शिविरमा ७ लाखभन्दा बढी भोकमरी र हिंसाबाट विस्थापित भएका मानिस बस्दै आएका थिए।
सुडानमा हाल करिब २५ मिलियन मानिस (जनसंख्याको आधा)गम्भीर भोकमरीको चपेटामा छन्। यो युद्धका कारण विश्वकै सबैभन्दा ठूलो मानवीय संकट बनेको छ।
प्रतिक्रिया