राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य उत्कृष्ट र पूर्ण रूपमा सक्षम” रहेको ह्वाइट हाउस चिकित्सकले घोषणा गरेका छन् ।
राष्ट्रपति ट्रम्प “पूर्ण रूपमा सक्षम” र राष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्न सक्षम छन् भन्दै ट्रम्पको वार्षिक स्वास्थ्य परीक्षणपछि ह्वाइट हाउसका चिकित्सकले आज सार्वजनिक गरेको एक ज्ञापनमार्फत् बताएका छन्।
चिकित्सक सन बार्बाबेलाका अनुसार ट्रम्प हाल “उत्कृष्ट स्वास्थ्य” अवस्थामा रहेका छन्। यो स्वास्थ्य नतिजा उनको प्रयोगशाला परीक्षण, शारीरिक जाँच र मानसिक क्षमताको परीक्षणका विवरणहरू समेटिएका छन्।
ट्रम्पको तौल २२४ पाउन्ड (१०२ किलोग्रामजति) रहेको छ भने उनको उचाइ ७५ इन्च (६ फिट ३ इन्च) रहेको उल्लेख गरिएको छ। उनको विश्राम अवस्थामा मुटुको गति ६२ बीट(धकधक) प्रति मिनेट छ भने रगतको चाप १२८/७४ मापन गरिएको छ।
मानसिक परीक्षण अन्तर्गत गरिएको मोनट्रेल कगनिटिभ एसेसमेन्टमा ट्रम्पले ३० मध्ये ३० अंक ल्याएका छन्, जसले उनी मानसिक रूपमा पूर्ण रूपमा सक्षम रहेको देखाउँछ।
ट्रम्पको आँखाको दृष्टि, टाउको, कान, नाक र घाँटी लगायत शरीरका विभिन्न अंगहरूको जाँच सामान्य देखिएको छ। चिकित्सकले पेनसिल्भेनियामा भएको हत्या प्रयासको क्रममा उनको दाहिने कानमा देखिएको घाउको पनि उल्लेख गरेका छन्।
चिकित्सक बार्बाबेलाले गत गर्मीमा गरिएको कोलोनोस्कोपी(आन्द्रा जाँच)मा ट्रम्पलाई डाइभर्टिकुलाइटिस भएको पत्ता लागेको जनाएका छन् । जुन पेटको भित्तामा स–साना प्वाल बन्ने अवस्थाले हुने जलन हो। यो सामान्यतया लक्षणबिहीन हुन्छ, तर कहिलेकाहीँ पीडा र रक्तश्राव पनि गराउँछ।
ज्ञापनको अन्त्यमा भनिएको छ, “राष्ट्रपति ट्रम्प शारीरिक र मानसिक रूपमा उत्कृष्ट अवस्थामा छन् र राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न पूर्ण रूपमा योग्य छन्।”
प्रतिक्रिया