“ट्रम्पको हत्या योजना : अमेरिकी किशोरद्वारा आमाबुबाको निर्मम हत्या, चरमपन्थी षड्यन्त्रमा एफबीआईको खुलासा”

इनेप्लिज २०८१ चैत ३० गते १९:३८ मा प्रकाशित

अमेरिकाको विस्कन्सिन राज्यमा १७ वर्षीय किशोर निकिता कासापले राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या र अमेरिकी सरकारलाई उल्ट्याउने योजनाअन्तर्गत आफ्नै आमा र सौतेनी बुबाको हत्या गरेको आरोप लागेकाे छ। एफबीआईका अनुसार उनले यस्तो योजना बनाउन आर्थिक स्वतन्त्रता र स्वायत्तता पाउनका लागि आफ्ना अभिभावकको ज्यान लिएका थिए।

कासापलाई गत मार्च महिनामा पक्राउ गरी दुई जनाको प्रथम श्रेणी हत्या, दुई वटा शव लुकाएको अभियोग, दस हजार डलरभन्दा बढीको सम्पत्ति चोरी र पहिचान दुरुपयोग गरी रकम प्राप्त गरेको आरोप लगाइएको छ।

अदालती कागजातअनुसार संघीय अधिकारीहरूले अब कासापमाथि राष्ट्रपतिकाे हत्या, राष्ट्रविरोधी षड्यन्त्र, र सामूहिक विनाशका हथियार प्रयोगजस्ता थप गम्भीर आरोपको अनुसन्धान गरिरहेका छन्।

मार्च १ मा वाउकेशा काउन्टी प्रहरी विभागले ५१ वर्षीय डोनाल्ड मेयर र ३५ वर्षीया तातियाना कासापलाई उनीहरूको घरमा मृत अवस्थामा फेला पारेको थियो। अनुसन्धानका क्रममा कासापको घुम्तीयन्त्र (फोन)बाट ‘द अर्डर अफ नाइन एङ्गल्स’ नामको नव-नाजी समूहसँग सम्बन्धित सामग्री भेटिएको छ।

एफबीआईले प्राप्त गरेको कथित दस्तावेजमा ट्रम्पको हत्या र ‘श्वेत जातिको उद्धार’को नाममा क्रान्तिको आह्वान गरिएको छ। ती दस्तावेजमा हिटलरको तस्वीरसँगै हेल हिटलर हेल व्हाइट रेस हेल भिक्ट्री लेखिएको देखिएको छ।

एफबीआईका अनुसार कासापले अन्य व्यक्तिहरूसँग मिलेर ट्रम्पको हत्या तथा सरकार उल्ट्याउने योजना बनाएका थिए, जसमा मानव रहित यान (ड्रोन )र विस्फोटक पदार्थ समेत संलग्न थिए।

उनको अर्को सुनुवाइ मे ७ मा तय गरिएको छ।

प्रतिक्रिया