“वान्डरिङ वर्ड्स ” शीर्षकमा आफ्नो नवीनतम साहित्यिक कृति प्रकाशित गरेका लेखक पशुपति घिमिरेका दुई पुस्तक अमेरिकी सिनेटरले लोकार्पण गरेका छन् ।
आइतवार भर्जिनियाको राजधानी शहर रिचमन्डमा आयोजित एक समारोह वीच भर्जिनियाका सिनेटर स्काइलर टी भ्यान भ्याकेन्वर्ग,लेखक घिमिरे र नेपाली कम्यूनिटी अफ रिचमन्ड,भर्जिनिया (NCRVA)का अध्यक्ष चन्द्र मल्ल,उपाध्यक्ष असीम राजभण्डारी,कोषाध्यक्ष रूकेश पोख्रेल,न्याकका सदस्य घनेन्द्र लामिछाने,समाजसेवी रोशन घिमिरे र अन्य अतिथिले संयुक्त रूपमा विमोचन गरेका हुन् ।
“तीन महाद्वीपका केही तरङ्ग,” (सम वेभ्स फ्रम थ्री कन्टिनेन्टस् ) उपशीर्षक रहेको सो पुस्तकमा तीन महादेश यात्राका विविध १८ गन्तव्यहरूलाई समेटिएको छ।
पुस्तकमा, घिमिरेले र तीन महाद्वीप – उत्तर अमेरिका, युरोप र एशियाका दश देश भ्रमणका अठार सुन्दर यात्रा वृत्तान्तहरू प्रस्तुत गरेको पाठक लीजा लामिछानेले बताइन् ।
उत्तर अमेरिकाका मेक्सिको ,बहामास र संयुक्त राज्य अमेरिका र पोर्टो रिकोका रमणीय यात्रा वर्णनहरू, युरोपका फ्रान्स, स्विट्जरल्याण्ड, ग्रीस र संयुक्त अधिराज्य, तथा एशियाका नेपाल, भारत र दक्षिण कोरियाका मनमोहक स्थानहरूका यात्रा वृतान्तहरूले जीवन्त र आकर्षक यात्रा कथाहरू चित्रण गरेका छन् ।
घिमिरेले यात्रा प्रति आफ्नो गहिरो रूचि र अनुभवहरू टिपोट गर्ने बानी रहेको बताए। उनले भने, “यसलाई नियात्रा,यात्रा वृत्तान्त वा यात्रा संस्मरण जे भने पनि, यसको आफ्नै एक विशिष्ट रङ र पहिचान छ। जुनसुकै नाम दिन सकिन्छ। मैले यात्राको धागोमा अनुभव र भावनाहरूको एक माला उन्न चाहेको थिएँ। म आफ्नो हृदयको आवाज सुन्न चाहन्थेँ।” लेखक घिमिरेले भने ।
यी यात्राहरू मात्रै नभएर लेखकका भावनाहरूका लय र ताल थिए, जहाँ-जहाँ उनी गए, रङ-रङका फूलहरूको सुगन्धित वासनाले उनलाई मोहित गरे। उनले तिनका जीवन्त रङहरू कैद गरे र तिनको सौन्दर्यमा डुब्दै, आफ्ना अनुभवहरू व्यक्त गर्न शब्दहरूको एक सुन्दर माला बुने।
“वान्डरिङ वर्ड्स ” एमाजन डट कम मा र एमाजनकै किण्डल इबुकमा विश्वभर बिक्रीका लागि उपलब्ध छ।
लेखक घिमिरेको यो दोस्रो कृति हो । करीब बार्ह बर्षअघि उनको पहिलो पुस्तक बुद्धबादका तीन आयाम प्रकाशित भएको थियो । सन् २०१३ मा प्रकाशित सो कृतिको दोस्रो संस्करण पनि हालै अंग्रेजीमा सार्वजनिक भएको उनले
बताए। दुवै पुस्तक सोही कार्यक्रममा लोकार्पण गरिएको हो ।
अंग्रेजी भाषामा प्रकाशित यी दुवै पुस्तक एमाजन डट् कम र एमाजन किन्डल इ बुक मार्फत् संसारभर उपलब्ध रहेको जनाइएको छ ।
NCRVA ले आयोजना गरेको सो कार्यक्रममा सिनेटर भ्याकेनवर्गले घिमिरेको साहित्यिक योगदानको प्रसंसा गरेका थिए ।
नेपाली नयाँ बर्ष २०८२ को स्वागत गर्दै करिब दुईसय नेपाली भेला भएको सो कार्यक्रममा सिनेटर भ्याकेनवर्गले नेपाली कम्यूनिटी अफ रिचमन्ड,भर्जिनिया(NCRVA) लाई संस्थाको सक्रियता र योगदानको कदर स्वरूप भर्जिनिया राज्यको तर्फबाट(Comending Resolution)सम्मान पत्र प्रदान गरेका थिए।
प्रतिक्रिया