नव वर्ष : भन्देऊ त कोही देश र जनताले के पायो ??

इनेप्लिज २०८२ वैशाख १ गते २१:३९ मा प्रकाशित

हेर्दा हेर्दै एकासी पनि गयो, बयासी आयो
हरेक वर्ष झैँ क्यालेन्डरले अर्को मौका पायो
कहिले बहुदल भन्दै आयो
कहिले प्रजातन्त्र भन्दै आयो
कहिले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता भन्दै आयो
तर जुन जुन तन्त्र आए पनि, जनताले के पायो ??
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनताले के पायो ??

पालैपालो काँग्रेस पायो , एमाले पायो,
माओवादी पायो, राप्रपा, मधेसवादी पायो
त्यति मात्र हो र ? स्वतन्त्र भन्दै रास्वपा आयो
बार्गेनिङ गर्दै गृह र उपप्रधानमन्त्री नै खायो
जो जो आए पनि, जो जो गए पनि
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनताले के पायो ??

बाहुन क्षेत्री पायो, जनजाति, दलित के के हो के के पायो !
सबैका सङ्घ सङ्गठन र झन्डा पायो
सूर्य चन्द्र अङ्कित झन्डा हेर्दा हेर्दै बिलायो
तँ तँ र म म गर्न, लड्न, भिड्न पायो
भागबन्डा गर्‍यो मिलेर खायो !
भन्देऊ त नढाँटी नयाँ वर्ष
देश र जनता ले के पायो ??
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनता ले के पायो ??

बोल्न नजान्नेले पायो, धेरै बोल्न जान्नेले पायो
हत्या र अपराधका मतियारहरू सत्तामा ल्यायो
जहानियाँ शासन चलायो,
जुटेर चलायो, फुटेर चलायो, भुटेर चलायो
राष्ट्र र राष्ट्रियता जलायो, पोलेर खायो
अभिभावक बन्नु पर्ने राज्यले राज्य आतङ्क मच्चायो
भन्देऊ त नढाँटी नयाँ वर्ष
देश र जनताले के पायो ??
हरेक नयाँ वर्षमा यही प्रश्न सोध्दा सोध्दै
प्रश्नकर्ता यो मनुवा बुढो हुन लायो !
भन्देऊ त कोही देश र जनता ले के पायो ??

– रामप्रसाद खनाल, वैशाख १, २0८२, हाल अमेरिका

प्रतिक्रिया