सधैंका बर्षमा झैं
यसपटक पनि
नयाँ बर्ष आएको छ
मान्छेहरुको खुसीको सीमा छैन
खै कुन्नि के कोसेली ल्याएको छ।।
साल नयाँ के लाग्यो
मान्छेहरुमा उधुम उमंग देख्छु
यसो औंला भाचेर हेर्यो
अरुको हिसाबकिताब
कुन्नि के कसो हो
आफू त एक साल मरेको देख्छु।।
नयाँ बर्ष कति आए गए
ती सबै बर्षहरुमा
गाउँ छाड्नेहरुकै लर्को देख्छु
गाउँ छोडेर शहर पस्नेहरु
बर्सेनि परदेशीएको भेट्छु।।
झुठो वाचा
झुठो आश्वासन
स्वभाव सबैको उस्तै हो
परिवर्तन खै कहाँ के भयो ?
बनेको त उ मात्र न हो
अरु सबैको हालत
हिजो भन्दा आज झन
गएगुज्रेको देख्छु।।
प्रणाली अझै उस्तै
बानीबेहोरा सबैको त्यस्तै
नातावाद र भ्रष्टाचार मौलाउँदो छ
राजनीतिमा सिद्धान्त हैन
षड्यन्त्रको रजगज छ
को राजनीतिज्ञ ?
को व्यवसायी ?
को अपराधी ?
को गुण्डा नाईके ?
बेथिति र गडबडी अचाक्ली छ
एकले अर्कोलाई सिध्याउने
जसरी पनि कुर्सी हत्याउने
खेलोफड्को हाम्रो
नयाँ आदत बनेको छ।।
ब्यबस्था उही
अबस्था त्यही छ
नेता जस्तै नीति अनि
बेहोरा सबै पुरानै छ।
आखिर, नयाँ वर्ष हो भने
केही नयाँ देखिनु पर्थ्यो
स्थितिमा थोरै भएपनि
चाल पाउनेगरी
सुधार हुनुपर्थ्यो
यहाँ त सबै
ज्युँका त्युँ छन्
फेरिएको त मात्र बर्ष हो
पात्रो पल्टिएर कहिँ
कायापलट हुन्छ र ?
बीच समुन्द्रबाट डुङ्गा कहिँ
आफसे आफ किनारा पुग्छ त ?
मदन बस्नेत, टोरोन्टो।
प्रतिक्रिया