गत आइतवार अमेरिकाको पेन्सिल्भेनिया राज्यका डेमोक्र्याट्सका गभर्नर जोश शापिरोको घरमा मोलेटोभ ककटेल (आगलागी गराउने विस्फोटक सिसी ) प्रयोग गरी आगजनी गर्ने ३८ बर्षिय कोडी एलन बल्मरलाई पक्राउ गरिएको छ । त्यो बेला गभर्नर र उनको परिवार घरभित्रै थिए।
बल्मर पूर्व अमेरिकी सेनासदस्य तथा मिस्त्री हुन् । उनलाई गम्भीर अपराधका आरोपमा पक्राउ गरिएको छ ।
बल्मरमाथि हत्या प्रयास, आतंकवादी कार्य, र उग्र आगजनीको अभियोग लगाइएको छ। सोमबारको सुनुवाइमा उनलाई धरौटी नदिई थुनामा राखिएको छ। यो घटनाले राज्यमा ठूलो राजनीतिक तथा सामाजिक तरंग उत्पन्न गराएको छ।
तर बल्मरको हिंसात्मक कथा अहिलेको मात्र होइन। उनले घरेलु हिंसासम्बन्धी धेरै मुद्दा झेलिरहेका छन्। अदालतका अनुसार उनले आफ्नी पत्नी, १३ वर्षीय छोरा, र १० वर्षीय छोरामाथि शारीरिक आक्रमण गरेका थिए। उनले पत्नीलाई टोकेर हातमा चोट पुर्याएका थिए, बच्चाको भाँचिएको खुट्टामा पाइला राखेका थिए, र आफैंले आत्महत्या प्रयास गरेको स्वीकार गरेका थिए।
सन् २००४ देखि २०१२ सम्म उनले अमेरिकी सेना आरक्षित (रिजर्भ)मा सेवा गरेका थिए तर कहिल्यै युद्धभूमिमा पठाइएन। उनले यान्त्रिक (मेकानिक)को रूपमा काम गरेका थिए र पछि आर्थिक समस्याबाट गुज्रिए। सन् २०२२ मा उनको घर लिलामी प्रक्रियामा परेको थियो ।
बल्मरको सामाजिक सञ्जालबाट उनि राजनीतिक नेताहरूप्रति आक्रोशित थिए। उनले राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडेन दुवैको आलोचना गरेका थिए। २०२२ को एउटा प्रकाशनमा उनले जलिरहेको मोलेटोभ ककटेल(आगलागी गराउने विस्फोटक सिसी)को चित्र संझा (सेयर) गर्दै लेखेका थिए -“तिमी संसारमा देख्न चाहने उज्यालो आफै बन्नु।”
उनको अघिल्लो मुद्दा जालसाजी रहेको थियो जसमा उनी दोषी ठहर भई १८ महिनाको परिक्षणकालमा थिए। अहिलेको हमला भने अदालत र राज्य सुरक्षालाई गम्भीर चुनौतीको रूपमा हेरिएको छ।
बल्मरमाथि घरेलु हिंसाको अर्को मुद्दा यसै हप्ताको बुधबार सुनुवाइको लागि तोकिएको छ। उनका आफन्तहरूले पनि यो हिंसात्मक कार्यप्रति स्तब्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया