“बाइडेनको आरोप: ‘ट्रम्प प्रशासनले गरेको विनाश साँच्चिकै स्तब्ध पार्ने खालको छ’”

इनेप्लिज २०८२ वैशाख २ गते २३:५३ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले हालै पहिलो पटक सार्वजनिक रुपमा बोल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको वर्तमान प्रशासनप्रति तीव्र आलोचना गरेका छन्। यद्यपि उनले ट्रम्पको नाम स्पष्ट रूपमा उच्चारण नगरे पनि, उनले “यो नयाँ प्रशासन” ले सय दिन नपुग्दै “अत्यधिक क्षति र विनाश” गरेको आरोप लगाए।

“सय दिन नपुग्दै, यो नयाँ प्रशासनले यति धेरै क्षति र विनाश गरिसकेको छ कि साँच्चिकै स्तब्ध बनाउने खालको हो,” बाइडेनले अमेरिकन कन्फेरेन्स अफ एड्भोकेट्स, काउन्सलर्स एण्ड रिप्रेजेन्टेटिभ्स फर द डिसएबल्ड (एसिआरडी ) अर्थात् अपांगता भएका व्यक्तिहरूका लागि अधिवक्ता, परामर्शदाता र प्रतिनिधिहरूको सम्मेलन”मा आयोजित कार्यक्रममा भने।

उनले संघीय कर्मचारी संख्यामा गरिएको कटौतीको आलोचना गर्दै त्यसले सामाजिक सुरक्षा प्रशासनको संजालस्थल (वेबसाइट )बारम्बार क्र्यास (बिनाश)हुने र नागरिकहरूले आफ्नो खाता खोल्न नसक्ने अवस्था सिर्जना गरेको उल्लेख गरे।

बाइडेनले सामाजिक सुरक्षाको रक्षा गर्नुको आवश्यकतामा जोड दिँदै भने, “सामाजिक सुरक्षा हाम्रो मूल्य हो, यसलाई जोगाउनु पर्छ।” अहिले डेमोक्र्याटहरू राष्ट्रव्यापी रूपमा यस योजनामा कटौती हुने डरविरुद्ध प्रदर्शन गरिरहेका छन्।

बाइडेनको यो आलोचनालाई धेरैले आगामी निर्वाचनको तयारीको संकेतका रूपमा हेरेका छन्, जहाँ सामाजिक सुरक्षा, संघीय संरचना, र प्रशासनिक दक्षता मुख्य बहसको मुद्दा बन्ने देखिन्छ।

प्रतिक्रिया