अमेरिकी धर्मगुरुको चमत्कारी उद्धार: दक्षिण अफ्रिकामा अपहरणपछि गोली हानाहानमा उद्धार ,३ अज्ञात अपहरणकारी मारिए

इनेप्लिज २०८२ वैशाख ३ गते ९:५८ मा प्रकाशित

दक्षिण अफ्रिकाको एक गिर्जाघरमा भएको प्रार्थना सभाका क्रममा हतियारधारी व्यक्तिहरूद्वारा अपहरणमा परेका एक अमेरिकी धर्मगुरुलाई तीव्र गोलीहानाहानपछि सकुशल उद्धार गरिएको छ। दक्षिण अफ्रिकी प्रहरीका अनुसार यो घटनामा तीन जना अज्ञात अपहरणकारी मारिएका छन्।

गत बिहीबार साँझ दक्षिण अफ्रिकाको ग्क्वेबेरहा शहरमा रहेको एक गिर्जाघर (चर्च)बाट अपहरणमा परेका ती अमेरिकी नागरिक एक सुरक्षित घरमा थुनिएर राखिएको प्रहरी अनुसन्धानबाट खुलेको हो। प्रहरीको विशेष दस्तासमूह ‘हक्स’ को नेतृत्वमा मंगलबार सो स्थानमा गरिएको कारबाहीको क्रममा संदिग्धहरूले सवारी साधनभित्रैबाट प्रहरीमाथि गोली चलाए। जवाफी कारबाहीमा तीन जना संदिग्धहरु मारिएका थिए।

प्रहरी प्रवक्ता प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नल) एभेले फुम्बाले जानकारी दिएअनुसार पीडित व्यक्ति त्यही कारमा फेला परे जहाँबाट संदिग्धहरूले गोली चलाएका थिए। “उनी आश्चर्यजनक रुपमा पूर्णरूपमा सकुशल थिए,” फुम्बाले बताए। स्वास्थ्य परीक्षणपछि उनको अवस्था सामान्य रहेको जनाइएको छ।

हालसम्म ती अमेरिकी धर्मगुरुको नाम सार्वजनिक गरिएको छैन र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया