काठमाडौँ । गायक तथा संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको जुन झारी दिउँला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक तुलाकै संगीत सृजना रहेको सार्वजनिक गीतको एरेन्ज किरण कँडेलले गरेका हुन् । मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक समेत रहेका तुलाले भिडियोमा कैद गरेका छन् । प्रेम रोमान्सले भरिएको एक जोडीको रोमान्टिक प्रेम कहानी बताउने जुन झारी दिउँलामा मोडलद्धय मोहन कुमार र सम्झना तमाखुको रोमान्टिक अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतका दुवै मोडल नयाँ भएपनि उनीहरुको अभिनय हेर्दा लाग्छ उनीहरु चल्तिका कलाकारहरु हुन् ।
भिडियोमा गायक तथा निर्देशक तुलाले परदेशी भूमिमा पनि कम स्रोत र साधनको प्रयोग गर्दै भरपूर रुपमा भिडियोलाई वाईड स्क्रिनमा देखाउने गरेको कोशिश तारिफ योग्य छ । करिब २ दशकदेखि मकाउमा रहेर आफ्नो कामलाई थाँती दिँदै म्यूजिक भिडियोको क्षेत्रमा पनि अनवरत रुपमा सक्रियता देखाउँदै आएका तृुलाले यो भिडियोबाट दर्शकको मन जित्नेमा झनै आशावादी छन् । निर्देशक तुलाकै अफिसियल च्यानल वाइड स्किन मिडियाबाट बजारमा आएको भिडियोले आम दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहेको निर्माण यूनिटको भनाई रहेको छ । भिडियोको छायांकन र सम्पादन निर्देशक तुलाले नै गरेका हुन् । मकाउमा मात्रै उनले यो भिडियो सहित गरेर दर्जन बढी छायांकन गरिसकेका छन् । जसमा उनले नेपाली कलाकारहरुका अलावा मकाउकै स्थानीय मोडललाई समेत अभिनय गराइसकेका छन् ।
प्रतिक्रिया