“संविधानको अपमान!”: न्यायाधीशको ट्रम्प प्रशासन बिरुद्ध कडा टिप्पणी 

इनेप्लिज २०८२ वैशाख ३ गते २१:३५ मा प्रकाशित

वाशिङ्टन डिसी । अमेरिकी संघीय न्यायाधीश जेम्स बोस्वर्गले ट्रम्प प्रशासनले भेनेजुएलाली आप्रवासीहरूलाई एल साल्भाडोर पठाउने क्रममा अदालती आदेशको अवज्ञा गरेको ठहर गर्दै प्रशासनलाई आपराधिक अवज्ञा आरोपमा कारबाही गर्नका लागि पर्याप्त आधार रहेको बताएका छन्।

मार्च १५ मा सरकारद्वारा गरिएको कार्यले “न्यायिक आदेशको जानीजानी अवहेलना” झल्काउँछ भन्दै उनले ४६ पृष्ठको निर्णयमा लेखेका छन्, “संविधानले न्यायिक आदेशको यस्तो मनपरी अवज्ञा सहन सक्दैन— विशेषतः यस्तो कार्य गर्नेहरू आफैंले संविधानको रक्षा गर्ने शपथ खाएका अधिकारीहरू हुन्।”

ट्रम्प प्रशासनले विदेशी शत्रु ऐन प्रयोग गर्दै केही भेनेजुएलालीहरूलाई तुरुन्तै देशनिकाला गर्ने निर्णय गरेको थियो। तर, बोस्वर्गले उक्त कानुनअन्तर्गत ती व्यक्तिहरूलाई एल साल्भाडोर पठाउनु गैरकानुनी ठहर गरे।

उनले प्रशासनलाई अझै पनि आदेश पालना गर्ने मौका दिँदै भनेका छन् कि उल्लङ्घनमा परेका आप्रवासीहरूलाई पुनः नियन्त्रणमा लिई उनीहरूले आफ्नो कानुनी अधिकार प्रयोग गर्न पाउनुपर्छ।

यस फैसलाले ट्रम्प प्रशासन र न्यायपालिकाबीच तनाबलाई झनै चर्काउने देखिएको छ।

प्रतिक्रिया