अमेरिकाका उपराष्ट्रपति जेडी भान्स अप्रिल १८ देखि २४ सम्मको लागि इटाली र भारतको ऐतिहासिक भ्रमणमा जाने भएका छन् । यस दौडान उनले इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, भ्याटिकनका राज्य सचिव कार्डिनल पिएत्रो पारोलिन तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ।
भ्रमणको मुख्य उद्देश्य आर्थिक सहकार्य, रणनीतिक साझेदारी तथा भू-राजनीतिक प्राथमिकताहरूमा दुईदेशीय संवाद विस्तार गर्नु हो। भान्स इटालीको राजधानी रोम र भारतका तीन शहर नयाँ दिल्ली, जयपुर र आग्रा समेत जाने कार्यक्रम रहेको छ ।
यो भ्रमण उनको युरोपप्रति दोस्रो कूटनीतिक पहल हो। यसअघि उनले पेरिसमा आयोजित वार्षिक कृतिम बुद्धिमत्ता (एआइ)सम्मेलन र म्युनिक सुरक्षा सम्मेलनमा युरोपप्रति आलोचनात्मक मन्तव्य दिँदै स्वतन्त्र अभिव्यक्तिको मूल्य हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका थिए।
भान्ससँगै उनकी पत्नी उषा भान्स र परिवार पनि सहभागी हुनेछन् । भारतीय आप्रवासीकी छोरी उषा भान्स सांस्कृतिक स्थलहरूको भ्रमणमा संलग्न हुने कार्यक्रम रहेको छ ।
यसअघि उपराष्ट्रपति दम्पती ग्रीनल्याण्ड पुगेका थिए, जहाँ भान्सले डेनमार्कको आलोचना गर्दै ग्रीनल्याण्ड अमेरिकाको सुरक्षा छातामुनि रहँदा सुरक्षित हुने धारणा राखेका थिए।
उपराष्ट्रपति भान्सको यो भ्रमणले अमेरिका, इटाली र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया