पुस्तक समीक्षा
चैतको पहिलो हप्ता मेरा दाइ पनि मित्र पनि कृष्णप्रसाद बरालले आफू असम जाने बताए । कृष्णप्रसाद दाइ कक्षा सातपछि असम पढ्न गए, आइए पढ्न नेपाल आए । कलेज पढ्दा कृष्णप्रसाद बराल र म विद्यार्थीकालमा सँगसँगै पढेका थियौँ । हुनतः मेरो मावली असम पनि हो । कुरा गर्दै जाँदा उनले भरखरै प्रकाशित मेरो उपन्यास ‘प्रतिरूप’ का केही प्रतिहरू पनि लैजान पाएमा गुहावटीस्थित नेपाली साहित्यिक संस्थामा दिनुहुन्थ्यो भन्ने कुरा पनि बताए । मेरो नयाँ उपन्यास ‘प्रतिरूप’ मा मेघालय राज्यको जवाई डिस्टिकको कोइलाखानी र खासी जातिसँग सम्बन्धित कथा पनि भएकाले म केही उत्साहित पनि भएँ । मैले
“मेघालयस्थित नेपाली साहित्यसँग सम्बन्धित कुनै व्यक्तित्वसँग सम्पर्क गर्नकोसिस गर्नु न” भनेँ ।
कृष्णप्रसाद दाइले गुहावटीमा आचार्य थरका भाञ्जासँग कुराकानी गर्दा भाञ्जाले तुल्सीराम फुल्लेलले लेखेको ‘तिमी नहुँदा’ कविता सङ्ग्रह पठाइदिएछन् । यसै कविताको पछाडिपट्टिको बाहिरी पृष्ठमा तुल्सीराम फुल्लेलको परिचय र सम्पर्क नम्बर छ, त्यसैमार्फत सम्पर्क गर्न सकिनेछ भनी भाञ्जाले बताएपछि कृष्ण दाइमार्फत मलाई तुल्सीराम फुल्लेलले लेखेको कविता सङ्ग्रह प्राप्त भयो । मोबाइल फोन र सामाजिक सञ्जालमार्फत फुल्लेलसँग सम्पर्क गर्दा संयोगवश भाञ्जाको ब्रतबन्धमा अर्घाखाँची आएको समयमा काठमाडौंको नरेफाँटमा परिवार भेट्न आउँदा मेरो र फुल्लेलबिच भेटघाट हुने अवसर मिल्यो । फुल्लेलले लेखेको कविता सङ्ग्रहलाई आद्योपान्त अध्ययन गरेँ ।नेपालको अर्घाखाँची पुर्खौली घर भएका तुल्सीराम फुल्लेलको जन्म इ.सं. १९६७ मा भएको हो । पिता शिलाङ कलेज, लाईतुमोखरा, शिलाङमा कर्मचारी भएकाले तुल्सीरामको पठनपाठन पनि शिलाङमा नै भयो । शिलाङ कलेज, लाईतुमोखराबाट वाणिज्यमा स्नातक र लाइबे्ररीमा सर्टिफिकेट कोर्स गरेका तुल्सीराम सोही कलेजको पुस्तकालय सहयोगीका रूपमा कार्यरत छन् । ‘नेपाली साहित्य परिषद्, शिलाङ’ का कार्यकारिणी सदस्य रहका फुल्लेल ‘मादल’ साहित्यिक पत्रिकाका सहसम्पादक पनि हुन् । सन् १९८५ देखि नै कविता लेखन गर्न थालेका फुल्लेल कविता लेखनमा निरन्तरता दिने व्यक्तिमा पर्दछन् । सानै कक्षादेखि फाटफुट कविताहरू कोर्ने बानी थियो भन्ने कुरा कवि फुल्लेल आफैँले स्वीकारेका छन् । उनीद्वारा रचना गरिएका थुप्रै कविताहरू नेपाल र भारतका साहित्यिक पत्रपत्रिकामा प्रकाशित छन् । शिलाङ तथा असमका साहित्यिक संस्थाबाट सम्मान पाएका फुल्लेल साहित्य अकादमी, नयाँदिल्लीद्वारा
आयोजित राष्ट्रिय कवि गोष्ठीहरू एवं विभिन्न साहित्यिक गोष्ठीहरूमा सहभागी भइसकेका छन् । पुस्तकका रूपमा ‘तिमी नहुँदा’ कविता सङ्ग्रह फुल्लेलको पहिलो कृति हो ।
नेपाली भाषा परामर्श समिति साहित्य अकादमी, नयाँ दिल्लीका सदस्य एवम् भारतीय ज्ञानपीठ पुरस्कार (नेपाली) नयाँ दिल्लीका संयोजक तथा शिलाङ कलेज, लाईतुमोखरा, शिलाङका प्राध्यापक नरबहादुर राईले फुल्लेलको ‘तिमी नहुँदा’ कविता सङ्ग्रहको सङ्क्षिप्त भूमिकामा लेखेका छन्ः
पिताजीको छत्रछायाँ र ब्राह्मणीय संस्कार एवं शिक्षादीक्षाको प्रभाव सानै उमेरदेखि पर्न जानु र स्कुल र कालेजमा नेपाली भाषा र संस्कृत भाषा पढ्ने सुविधा र शौभाग्य तुल्सी फुल्लेललाई प्राप्त हुनुको कारण नेपाली भाषा सिक्ने र लेख्ने अभिरुचि बढ्न गयो जसको फलस्वरूप नेपाली मातृभाषाप्रति उनको आन्तरिक प्रेम जागृत भयो (पृ. २७) ।
प्राध्यापक नरबहादुर राई फुल्लेलमा काव्य क्षमता भएको भन्दै लेख्छन्ः कविता कोर्ने, काव्य सिर्जन गर्ने लक्षण उनमा त्यसैदेखिकन काव्य क्षमता उनीभित्र प्रचुर रहेछ (पृ. २७) । फुल्लेलका कवितालाई भावावेगका उपज भन्दै राई भन्छन्ः तुल्सी फुल्लेलका कविताहरू उनका आफ्नै हृदयका भावावेगका उपज हुन् । त्यसैले उनका कविताहरू उनको हृदयका पुकार हुनु, आह्वान हुन्, आक्रोस र संवेदना हुन् (पृ. २७) ।
फुल्लेलका कवितामा समाजका विभिन्न घटनाक्रम, विकृति र विसङ्गतिहरूप्रति आफ्ना असन्तुष्टि जाहेर गर्नुका साथै कतिपय ठाउँमा विद्रोहको स्वर घन्काएका छन् । गुवाहाटीका ढाकाराम काफ्लेका अनुसार तुल्सीराम फुल्लेलका कविताहरूले कुनै विशेष वाद वा धाराको अनुकरण नगरेको भए पनि धेरैजसो कविताहरूलाई आदर्शवादी कविता मान्न सकिन्छ (पृ. २५) । नितान्त निजपरक र आत्मपरक भावहरू पनि उनका कवितामा पाइन्छ ।
प्रवासी नेपाली सङ्घ, भारतका केन्द्रीय सल्लाहकार टीका पौडेलका अनुसार फुल्लेलका कविताले प्रवासी नेपालीहरूको अधिकारका लागि सङ्घर्ष गर्न आह्वान गरेको देखिन्छ भने जीवनका आफ्ना अनुभवलाई कविताका हरफहरूमा समेटेका छन् । रोजगारका लागि प्रवासिएका भए पनि प्रवास जस्तो ठाउँमा सामाजिक, साङ्गठानिक, राजनीतिक र साहित्यिक क्षेत्रमा समेत आफूलाई संलग्नता बनाउनु सामान्य र चानचुने विषय होइन भन्दै टीका पौडेलले फुल्लेलको कविता सङ्ग्रहको सरहना गरेका छन् (पृ. १४) । तुल्सीरामका कविताहरू मेकअपले नसजिएका कारण बोधगम्य छन् भने शिलाङका विक्रमवीर थापाले विचार व्यक्त गरेका छन् (पृ.७) ।
बुटवलका धर्म भुसालका अनुसार उनका प्रत्येक कवितहरूले केही न केही सन्देश दिन खोजिरहेका छन्, कुनै कविताहरूले विद्रोहको आगो ओकलेका छनु, कुनै कविताहरूले शान्तिका झण्डाहरू उठाएका छन् । देश विदेशमा नेपालीहरूले भोग्नुपरेका दुःख र पीडाहरू कवितामा व्यक्त भएका छन् (पृ. १०) ।
फुल्लेलको ‘तिमी नहुँदा’ कविता सङ्ग्रहका सबै कविताहरू गद्य हुन्, छन्दबद्ध छैनन् । गद्य कविताको स्वभावअनुसार कतिपय कविताका हरफहरू एक शब्दका छन् भने कतिपय आठनौ शब्दका छन् ।
कवि फुल्लेलले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति’ शीर्षकको कवितामा महाकवि देवकोटालाई वाइरन, शेली, कलरिज, चाल्र्सल्याम्ब, रबर्टलिन्डसँग तुलना गरेका छन् । देवकोटालाई वाइरन र शेलीसँग यसरी तुलना गरेका छन्ः
‘वाइरनको रौद्र्रता र शेलीको कविता जस्तै
देवकोटा तिमी थुप्रै निबन्ध लेखेर दुनियाँ चम्कायौ’ (महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति, पृ. ३९) ।
‘तिमी नहुँदा’ कविताबाट नै यस सङ्ग्रहको नामाकरण गरिएको छ । यो कविता कविले आफ्नो पिताजीको देहान्तपछि पिताजीको अभावमा यो कविता लेखेको महसुस गर्न सकिन्छ । पिताजीको स्वर्गारोहणलाई अप्रत्यासित तर दैवको लीलाका रूपमा स्वीकार्दै कवि लेख्छन्ः
‘दैवलाई के दोष दिनु खै !
उसले आफ्नो कर्तव्य गरेपछि’ (तिमी नहुँदा, पृ. ४३) ।
कवि फुल्लेलले वर्तमान समयमा पनि छुवाछुत र जातमा गरिने ठूलो सानोको भेदभावप्रति असहमति व्यक्त गर्दै ‘बालक’ कवितामा यसरी आफ्नो भाव व्यक्त गर्छन्ः
यो भेदभावको संसारभित्र मलाई बाँच्न रहर पनि छैन
‘मलाई त फेरि एउटा अबोध बालक भई
यो धरतीमा आउन मन लाग्छ’ (बालक, पृ. ४७) ।
कवि फुल्लेलले ‘अब उठ’ कवितामा सहिदका सपनालाई साकार पार्न श्रद्धान्जलि पर्याप्त नभएको भन्दै सबैलाई उठ्न आग्रह गर्दै यसरी भन्छन्ः
‘सङ्घर्षमा बलिदान हुने शहीदको सपनालाई केवल श्रद्धान्जलि दिएर मात्र हुन्न यहाँ’ (अब उठ, पृ. ६२) ।
प्रेमीप्रेमिकाले एकअर्कालाई आफ्ना भावना व्यक्त गर्न नसकेको अवस्थालाई कविले ‘एक्लो’ कविता शीर्षकमा यसरी व्यक्त गरेका छन्ः
‘झरनाबाट झरेको पानीको प्रहारले थिचेको
ढुङ्गाजस्तै न तिमी बोल्न सक्यौ
न मैले आफ्नो व्यथा पोख्न सकेँ’ (एक्लो, पृ. ६३)
‘आमा’ कवितामा कवि फुल्लेलले आमाका स्वभावलाई यसरी व्यक्त गर्छन्ः
‘वेदनाभित्र पनि मुस्कुराउने स्वभावका हुन्छन् आमाहरू
पलाउँदैनन् कहिलै पनि उनीहरूमा
आफ्ना लगाउने र खाने रहरहरू’ (आमा, पृ. ७०) ।
‘अब छैन रमाइलो यहाँ’ शीर्षकको कवितामा कवि फुल्लेल प्रवासी गोर्खालीले आफ्नो भाषा, संस्कृति, रीतिरिवाज बिर्सदै गएको तर्फ सङ्केत गर्दै गुनासो यसरी व्यक्त गरेका छन्ः
‘बोल्थ्यौँ निडर भई जताततै हामी नेपाली हौं भनी
छैन आज रमाइलो यहाँ विगतका दिनहरूमा झैं
सिक्दैनन् आफ्नैले निज भाषा करै लगाए पनि’ (अब छैन रमाइलो यहाँ, पृ. ८१) ।
आफ्नो भाषाप्रति गर्व गर्नुपर्छ भन्ने आशयसाथ ‘भाषा’ शीर्षकको कवितामा कवि फुल्लेल लेख्छन्ः
‘आत्म मर्यादा अनि चिन्हारी
भाषाप्रति गर्व गर्न सिक्यौ भने
सार्थक हुन्छ त्यो बलिदान
भाषा नै जीवन हो सदैव अमर रहोस्’ (भाषा, पृ. ८५) ।
‘धनको घमण्ड किन गछौँ ?’ शीर्षकको कवितामा कवि फुल्लेलले दार्शनिक भाव व्यक्त गर्दै
लेख्छन्ः
‘प्राणहीन भएपछि अछुत भनी
आफ्नैले पनि नुहाउने गर्छ
मरेपछि त्यो घाटमा लैजानू भनेर भन्दै गरेको हुन्छ’ (धनको घमण्ड किन गर्छौँ, पृ. १११) । छन्दोबद्ध कवितामा छन्द अनुशासन कायम गर्न ह्रस्वदीर्घभन्दा छन्दका गण र लघुगुरुलाई महत्त्व दिइन्छ । गद्य कवितामा छन्द अनुशासन कायम गर्न नपर्ने भएकाले कवितामा ह्रस्वदीर्घ र वर्णविन्यासलाई ध्यान दिनुपर्ने हुन्छ । तर, फुल्लेलको तिमी नहुँदा कवितामा केही शब्दमा सम्पादन नभएर वा ध्यान नदिएर केही शब्दमा भाषिक त्रुटि देखिन्छ । जस्तैः महत्व, पसीना, बन्दूक, महसूस, दुइ,
दृष्टिहिन, त्यान्द्रोमा, गर्नको, लाइब्रेरी, स्टाफ, ऋणि, खोजिमा, वतास, एकिकृत, तिलीचो, श्रृङ्खलाहरू, वाध्यता, शैयामा ।
तुल्सीराम फुल्लेलको ‘तिमी नहुँदा’ कविता सङ्ग्रहमा प्रशस्त झर्रा शब्दहरू भेटिन्छन् । यस्ता झर्रा
शब्दहरूले कवितालाई रसिलो बनाएका छन् । यस्ता झर्रा शब्दहरू हुन्ः अरनी, ठुटे जाँगे, तुने चप्पल,
बिरानो, तगाराहरू, ढिबरी, दियालो, ठिही, टारी खेत, नाम्लो दाम्लो, अटकल, रफकापी, डन्डीबियो, तिजु, ढुङ्ग्रे, डोको नाम्लो, मारुनी, पुरसुंगे, तुरही, बलबुता, वरापरि, एक सरो लुगा, ठोक्कर, चिर्कटो, शुद्धी । कविताहरू सरल रूपमा लेखिएका छन् । कविताको अर्थ ग्रहण गर्न कठिन छैन । सबै कविताको
अभिधा अर्थमा नै बुझ्न सकिन्छ । कतै कतै केही बिम्बको प्रयोग पाइन्छन्ः कलियुगका द्रौपदीहरू, फट्याँग्रोजस्तै हिँड्ने ।
‘तिमी नहुँदा’ कविता सङ्ग्रहका कवितामा लय विधान पर्याप्त छैन । कविता पढ्दा अनुप्रास,
अन्त्यानुप्रास तथा श्लेष आदिको अभाव खड्किन्छ । यति हुँदाहुँदै पनि अनुप्रास नभएको चाहिँ होइन ।
जस्तैः
‘सजिन्छ विवाह मण्डममा अनि
साथ दिन्छ अन्तिम यात्रामा पनि’ (फूलजस्तै बनौं, पृ. ३९) ।
‘तिमी नहुँदा’ कविता सङ्ग्रहमा केही अङ्ग्रेजी शब्दहरू भेटिन्छन्ः सेल्युट, गोल्फ कोर्स, कलेज, ब्लक हिल, मिनी स्कर्ट, भाइरस, स्केनिङ, डाइनिङ, लेन, फोरलेन, सिटीबस, साइलेन्सर, क्याप्चर, रिसर्च । कवि फुल्लेल शिलाङमा पढेर त्यहीँ नोकरी गर्ने भएकाले होला, ‘तिमी नहुँदा’ कविता सङ्ग्रहका कवितामा भारतका पूर्वोत्तर क्षेत्रका ठाउँहरू प्रशस्तै उल्लेख भएको पाइन्छ । यस्ता उदाहरणहरू हुन्ः
आइजोल, मिजोरम, शिलाङ, जवाई, नङ्पो, खानापाडा, वार्डसलेक, हैड्रप्वार्क, गल्फ फिल्ड्स, लाईतुमोखरा, फायर बिग्रेड मैदान, पुलिस बजार, लालचन्दबस्ती, पत्थरमुखरा, बढडाबजार, उप्लिङ, हेप्पीभेली, रिन्जा, माउब्लाई, मयुरभन्ज, लवान, ओक्ल्यान्ड, नङ्गपो, झालुपाडा, बाह्रपत्थर, मोप्रेम, नङ्थुमाई, गाडीखाना, तीनमाइल, अपर शिलाङ ।
विभिन्न शीर्षकका चवन्न ओटा कविताहरू यस सङ्ग्रहमा रहेका छन् । पृष्ठ ३६ सम्म प्रकाशकीय, भूमिका, शुभकामना, लेखकीय मन्तव्य छन् भने पृष्ठ ३७ देखि ११२ सम्म विभिन्न शीर्षकका चौवन्नओटा कविताहरू रहेका छन् । कविता सङ्ग्रहमा कविको आफ्नै दुई शब्दबाहेक तेह्र जनाको लेखहरू शुभकामना, भूमिका, प्रकाशकीय आदिमा समेटिएको छ ।
प्रवास बसेर नेपाली भाषा र साहित्यको साधना गरिरहनुभएका तुल्सीराम फुल्ललेलाई ‘तिमी नहुँदा’ कविता सङ्ग्रहका लागि बधाई तथा शुभकामनासहित आगामी दिनमा अझै सशक्त काव्य रचनाको अपेक्षा गर्दछु । उनका कवितामा प्रवासी र परदेशी नेपालीको भावना तिख्खर रूपमा प्रतिबिम्बित होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । कविता सङ्ग्रह सङ्ग्रहणीय छ, पठनीय छ ।
कृतिः तिमी नहुँदा
विधाः कविता
लेखकः तुल्सीराम फुल्लेल
प्रकाशिकाः श्रीमती पवित्रा फुल्लेल
संस्करणः पहिलो (सन् २०२१)
पृष्ठः ११२
मूल्यः भारतीय रूपी २००
प्रतिक्रिया