गठबन्धन सरकारमा कांग्रेसी नीति: आफैं झाँक्री, आफै बोक्सी !

मदन बस्नेत, टोरोन्टो २०८२ वैशाख ४ गते २२:०३ मा प्रकाशित

कांग्रेस एमाले सत्ता गठबन्धनको सुरुवातदेखि नै चर्को बिरोध गर्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै मात दिने गरि सत्ता साझेदार दल नेपाली कांग्रेस भित्र कै शीर्ष नेताहरुले बर्तमान सरकारको कटु आलोचना गर्न थालेपछि नेपालको राजनीति एकएक गर्माएको छ र सत्ता समीकरणको फेरबदल देखि ब्यबस्था परिवर्तनको हल्ला सम्म चल्न थालेको छ।

भनिन्छ नि हावा नचली पात हल्लिदैन। हो, त्यसैलाई पुनर्पुष्टी गर्ने गरि हालैका दिनमा सत्तारुढ घटक नेपाली कांग्रेसका नेताहरुले दिएको सरकार बिरोधि सार्बजनिक अभिव्यक्तिले सत्ता परिवर्तनको बजारिया हल्लालाई थप मलजल गरेको छ।

चैत बैशाखको डढेलो जस्तो बर्तमान सरकार ढल्ने र अर्को बन्ने हल्ला यति व्यापक बनेको छ कि हरेक दिन बिहान सरकारका मन्त्री प्रधानमन्त्रीले गायत्री मन्त्र जप गरे जस्तो गरी सरकार ढल्दैन ०८४ सम्म नै यो गठबन्धन कायम रहन्छ भन्दै आफ्नो दिनचर्या शुरु गर्नु पर्ने नौबत आईलागेको छ।

पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको काम कारवाहीलाई लिएर कांग्रेसभित्र चर्को आक्रोश चुलिएको छ र असन्तुष्टि पनि ह्वात्तै बढेर गएको छ। एकातिर प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसलाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेको अवस्था र अर्कोतिर सरकारको पर्फमेन्सलाई लिएर गगन थापा लगायतका कांग्रेसी नेताहरुले सार्बजनिक रुपमा असन्तुष्टि जताई रहेको बेलालाई लिएर अड्कलबाजी गर्ने राजनीतिक जुवाडेहरुको अनेकन अनुमानले पनि सामाजिक संजाल उछालिएको अबस्था छ।

सरकारको कामकारबाहीलाई लिएर संस्थापन इतर शेखर कोइरालामात्र होइन सरकारलाई सफल बनाउन भन्दै विभिन्न कार्यदलमा रहेर काम गरिरहेका महामन्त्री गगन थापासमेत असन्तुष्ट देखिएका छन् । त्यही असन्तुष्टिमा हो मा हो थप्ने काम यतिखेर अर्का महामन्त्री बिश्वप्रकाशले पनि सुरु गरिसकेका छ्न्।

नेपाली कांग्रेसका महामन्त्री तथा उच्चस्तरीय संयन्त्रमा सक्रिय सदस्य गगनकुमार थापाले यसै साता एउटा सार्बजनिक कार्यक्रममा बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको खुलमखुल्ला नै भन्न भ्याए।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको कार्यशैलीलाई तत्काल बदल्नुपर्ने नत्र एमालेबाट मात्रै मन्त्री बनाएर सरकार चलाउन प्रधानमन्त्री ओलीलाई ठाडो चुनौती नै दिए।

ओलीको नेतृत्वमा सरकार बन्नु अघिसम्म प्रचण्ड नेतृत्वको सरकार अस्थिर बनेको भन्दै दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर अस्थिरताको अन्त्य गर्दै स्थिर सरकार बनाउनुपर्ने जोडबल गर्दै आएका कांग्रेस नेता डा. शेखर कोइराला समेत सरकारको विरुद्धमा आगो ओकलिरहेका छ्न्।

त्यतिमात्र हैन, बर्तमान सरकारको बिरोध गर्ने सुनिल शर्मा, चन्द्र भण्डारी लगायतका कांग्रेसी सांसदहरुको लिस्ट त अझ धेरै लामो छ। जो हरदिन युट्युबे पत्रकारकालागी खुराक बनेर दिनहुँ मसला पस्किरहेका हुन्छ्न्।

आखिर किन त आफ्नै सरकार विरुद्ध कांग्रेसीका यतिधेरै बिरोध ? के चित्त बुझेन उनीहरूको ? के कारण मन फाट्यो ? पार्टी सभापति देउवाले आफ्नै नेता कार्यकर्ताहरुलाई थुमथुम्याउन नसकेका हुन् कि प्रधानमन्त्री ओलीले उनीहरुको माग बमोजिम भाग पुर्याईदिन नसकेका हुन् ? गाँठी कुरो के हो ? सरकार आफ्नै अनि आफैं सरकारको खुलेयाम बिरोध गर्दै हिंड्ने ? आफैं झाँक्री, आफैं बोक्सी ? कांग्रेसी नेताहरुको यस्तो दोगला चरीत्र देखेर आम सर्वसाधारण जनता यतिखेर रनभुल्लमा परेका छ्न्।

कुनै न कुनै बहानामा सधैं चर्चामा रहन रुचाउने र पार्टी भित्र र आम जनमानसको सेन्टिमेन्टलाई पनि क्यास गर्ने चक्करमा यतिखेत नेपाली कांग्रेसका महामन्त्री गगन थापा र अर्का महामन्त्री बिश्वप्रकाश सरकारको बिरोध गरिरहेको जो कसैले पनि सहजै बुझेका छ्न्। पार्टीको महामन्त्री भएर पनि पार्टी र सरकार कहिँ कतै प्रभावकारी भुमिका नपाएका उनीहरु आफ्नो उपस्थिति देखाउन बेलाबखत त्यस्तो उटपट्याङ हर्कत गर्ने गरेका छ्न्। उनीहरुका त्यस्तो सरकार बिरोधी अभिव्यक्तिले काम नपाएर डुकुलन्ठ भएर हिंडेका केही थान मिडियालाई खुराक मिलेको होला, त्यो बेग्लै कुरा भयो, हैन भने उनीहरुको ती सबै हर्कत भनेको केटाकेटी आए, गुलेली खेलाए, मट्यांग्राको सत्यानाश भन्ने लोकउक्ती भन्दा भिन्न साबित हुन सकेको छैन।

बिचरा गगन थापा त पार्टी सभापति देउवा र प्रधानमन्त्री ओलीबाट गाली खानु पर्ला भन्ने डरले दुई दलबीच बनेको उच्चस्तरीय संयन्त्रको भर्खरै सम्पन्न बैठकमा समेत उपस्थित भएनन्। घरमै पब्जी खेलेर दिन काटे।

शेखर कोईराला आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व हत्याउने दाउमा छ्न्। त्यसैले उनले कांग्रेस संस्थापन देउवा र बर्तमान सरकारको बिरोध गर्नु कुनै आश्चर्य हैन। पार्टी र सरकारमा बार्गेनिङ गरेर जे जति हात लाग्छ त्यो हात पार्ने र आगामी महाधिवेशनकोलागी नेता कार्यकर्तालाई प्रभावित पार्ने उनको त्यो रणनीति कुनै सेक्रेट मिसन हैन, सबै सामु घाम जतिकै छर्लङ्ग छ। त्यसैले उनको बिरोधलाई न देउवाले महत्त्व दिएका छ्न् न त सरकारले नै कुनै चासो दिएको छ।

दुनियाँ गठबन्धनको बिरोध गरेर थाकेको छैन, सरकारको उछिट्टो काट्न मै ब्यस्त छ तर अर्कोतर्फ शिर्ष नेताहरु देउवा र ओलीले भेटघाट गरेर सबै कुराको ब्यबस्थापन गरिसके। दुनियाँले सुइँको नै पाएको छैन। मिलाउनु पर्ने सबै हिसाबकिताब उनीहरुले मिलाईसके। कसले के लिने ? के छाड्ने त्यो पनि टुंग्याए।

सरकारमा पनि बस्ने अनि सरकारको उछित्तो पनि काट्दै हिंड्ने गर्नु भन्दा चित्त नबुझे आफ्नो मन्त्रीहरुलाई फिर्ता बोलाउन, सरकारलाई दिएको समर्थन फिर्ता लिन हिम्मत राख्नु पर्ने हो, पार्टी महामन्त्रीको हैसियतका रहेकाहरुले। तर उनीहरू पार्टी भित्र निरीह प्राणी जस्ता छ्न्। उनीहरू आफ्नो एजेन्डा लान न त्यो लागू गर्ने हिम्मत र ल्याकत नै राख्दैनन्। पार्टी सभापति देउवाको अगाडी उनीहरू बाजको अगाडी सर्प परे जस्तो हुन्छ्न्, वक्य फुटाउनै सक्दैनन्। सार्बजनिक खपतकालागी बाहिर मिडियाबाजी गर्छन्, यसो बोले जस्तो गर्छन्, सकियो।

त्यसैले उनीहरूको बिरोध वा समर्थनले कांग्रेस पार्टी भित्र र बर्तमान सरकार गठबन्धनमा खासै कुनै प्रभाव नपार्नेमा देउवा ओली ढुक्क छ्न्। दुनियाँ गठबन्धनको बिरोध गरेर थाकेको छैन, सरकारको उछिट्टो काट्न मै ब्यस्त छ तर अर्कोतर्फ शिर्ष नेताहरु देउवा र ओलीले भेटघाट गरेर सबै कुराको ब्यबस्थापन गरिसके। दुनियाँले सुइँको नै पाएको छैन। मिलाउनु पर्ने सबै हिसाबकिताब उनीहरुले मिलाईसके। कसले के लिने ? के छाड्ने त्यो पनि टुंग्याए। निकट भबिस्यमा रास्ट्र बैंकले गभर्नर पाउने भएको छ। त्रिभुवन बिश्वविद्यालयको उपकुलपती पनि टुंगो लाग्दैछ। धितोपत्र बोर्ड, बीमा प्राधिकरण र नेप्सेमा पनि भागबन्डा मिलिसकेको छ।

दुबै नेता संगै बसे, चियाको कपबाट तर झिके, फाले। अन्ततः सरकार परिवर्तन र ब्यबस्था उलटफेरको बजारी हल्ला चिया कपको तुफान जस्तै उठ्न नपाई निमेष भरमा नै बिलाएर गयो। तर बुद्धि बिलास गरेर रम्नेहरु अझै अनेकथरी अड्कलबाजी गरेर टाईमपास गरेर बसिरहेका छ्न्।

देउवा ओलीको भेटघाट पछी र विशेषज्ञत कांग्रेस एमाले दुई दलबीच बनेको उच्चस्तरीय संयन्त्रको हालसालैको बैठक पछी गठबन्धन भित्र सबै ठिकठाक देखिन्छ। उनीहरुले दावी गरेजस्तै बर्तमान सत्ता संकट पनि टर्यो होला। सत्ताको जोडघटाउ र गणित ठिकठाक पारियो होला। भागबन्डा मिल्ने बितिक्कै अबका दिनमा रिक्त रहेका महत्त्वपूर्ण सरकारी निकायहरुमा भटाभट नियुक्ति पनि होलान्। संसदको अब बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बार्षिक बजेटको छलफल पनि चल्ला तर के उनीहरूको त्यस्ता बैठक र छलफलहरुले आम जनतामा देखिएको निराशा र असन्तुष्टिहरुको सम्बोधन गर्न सक्यो त ? देश बन्दैछ, केही नयाँ हुँदैछ भन्ने आशा जगाउन सक्यो त ? अँह सकेको छैन। गठबन्धनको संयन्त्र चुकेको नै यहीँनेर हो।

संसदीय गठजोडको गणितीय हिसाबले एकदमै मजबुत देखिएको बर्तमान सरकार कार्य सम्पादनको र प्रभावकारिताको हिसाबले जति चुस्त दुरुस्त हुनु पर्ने हो त्यति नभएको पक्कै पनि हो। सुशाशनको नारा कार्यान्वयन भएको छैन। भ्रष्टाचार रोकिएको हैन। साना साना माग पूरा गर्न आन्दोलन गर्नु परेको छ। बार्ताबाट समाध हुने विषयमा पनि सरकार दम्भ देखाएर बसेको छ। बिधिको शासनको उपहास भएको छ। तर बिडम्बना निरो रोम जल्दै गर्दा पनि बाँसुरी बजाई रहेको छ।

ढिलै भएपनि कांग्रेसको बिर्को लागेको बुद्धिको ढक्कन खुले जस्तो छ। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समिति बैठक बोलाएर त्यसको संकेत दिएका छ्न् । वैशाख १७ मा डाकिएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुने बुझिएको छ। बैठकले सराद्देमा बिरालो बाँधे जस्तो समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधि र एमालेसँगको सत्ता सहकार्यबारे बैठकमा छलफल मात्र नगरोस्। समसामयिक राजनीतिक परिवेशलाई मध्यनजर गर्दै बोल्ड डिसिजन लिने हिम्मत गरोस्। न हाँसको चाल, न त बकुल्लाको चाल भने जस्तो अबस्थाको सत्ता गठबन्धन र सरकारको पर्फर्मेन्सलाई उल्ट्याउने आँट गरोस्।

मदन बस्नेत, टोरोन्टो।

प्रतिक्रिया