अमेरिकाको म्यासाचुसेट्स राज्यमा अवस्थित बिश्व प्रसिद्ध बिश्वबिद्यालय हार्वर्डको स्कूल अफ पब्लिक हेल्थ(जनस्वास्थ्य बिद्यालय)ले अहिले गम्भीर बजेट संकटमा परेको छ । ट्रम्प प्रशासनले २ बिलियन डलर भन्दा बढी संघीय अनुदान र सम्झौता स्थगित गर्ने निर्णय गरेपछि यो समस्या उत्पन्न भएको हो ।
बिद्यालयकी सञ्चार तथा रणनीतिक पहल प्रमुख स्टेफेनी साइमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बिद्यालय नेतृत्व विभाग प्रमुख र प्रशासनिक निर्देशकहरूसँग मिलेर दीर्घकालीन रणनीतिमा प्राथमिकता दिन र दिगो बजेट कटौती गर्न काम गरिरहेको छ। हाम्रो उत्कृष्ट जनशक्तिमा कम असर पार्ने प्रयास भइरहेछ।”
विगत केही महिनामा पनि विद्यालयले संघीय अनुदान कटौतीका कारण केही कर्मचारी हटाइसकेको थियो। नयाँ नीति अन्तर्गत खर्च घटाउने अभियानका भागस्वरूप, बिद्यालयले आफ्ना परिसर क्षेत्र सीमित गर्दै बाहिरी स्थानहरूमा रहेका दुई भाडा सम्झौता (लिज )बन्द गर्ने निर्णय गरिसकेको छ।
अनुदान रोक्काका कारण अहिले तीनवटा काम रोक्का आदेश जारी भइसकेका छन्। यसले क्षयरोग अनुसन्धान, कफी सेवन र क्यान्सरबीचको सम्बन्ध तथा स्तन अर्बुद रोग (क्यान्सर )ट्युमर (गाठो )अनुक्रमणजस्ता महत्वपूर्ण अनुसन्धान कार्यहरू रोकिएका छन्।
बिश्वबिद्यालयले विगत केही महिनामा १९ अनुसन्धान अनुदान गुमाइसकेको छ, जुन ट्रम्प प्रशासनका प्राथमिकतासँग मेल नखाने कारण रोकिएको हो।
साइमनका अनुसार, संघीय अनुदानबाटै विद्यालयको ४६% बजेट धानिन्छ। यस्तो अवस्थामा, विद्यालयले महिनौंदेखि खर्च घटाउने र राजस्वसँग मिलाएर संरचनात्मक परिवर्तन ल्याउने प्रयास गरिरहेको छ।
प्रतिक्रिया