पुस्तक समीक्षा
पूछते थे ना कितना प्यार है हमें तुम से,
लो अब गिन लो… ये बूँदें बारिश की
माथिका हरफहरूमा सायरले बडो अर्थपूर्ण, दृष्टिविहीन र भावनाले भरिएको शब्दहरूबाट प्रेम वा लभ वा मायाको व्याख्या गर्न कोसिस गरेको छ।अक्सर पाकिस्तानी टेलिभिजनतिर कलाकरलाई सोधिने प्रश्नमा प्यार कित्ने दफा होति हे?भन्ने प्रश्न बढी नै सुनिन्छ।माया/प्रेमको बारेमा कवि र सायर जत्तिको त अरूले व्याख्या गर्न सक्दैनन् तथापि मैले प्रतिरूप पढेपछि प्रयत्न गरें ।यस उपन्यासमा पनि प्रेम वा लभ वा माया वा हर्मोनल लभको बारेमा लेखकले पात्र
परमानन्दबाट परिभाषित गरेको पाइन्छ।
“भन्छन् । उमेर पुगेपछि शरीरमा हर्मोन बढ्छ, केटाले केटीलाई र केटीले केटालाई मन पराउने उमेर । सानो बच्चामा यस्तो हर्मन बढेको हुँदैन रे, उमेर ढल्किएपछि त्यो हर्मोन आफैँ हराउँदै जान्छ रे ।उमेरले ल्याएको प्रेम हो सर ।यस भनाइमा सहमति गर्दै प्रेम वा लभ वा मायालाई अलि बृहत् कोण वा अन्य कोणबाट पनि हेरौं न भन्ने प्रस्ताव गरेँ।
आज जे जति विकास सम्भव भएको छ, त्यो कसै न कसैको सोचाइको देन हो।मान्छेले आ-आफ्नो भोगाइ, देखाइ, सुनाइअनुसार नै कुनै कुरामा दृष्टिकोण बनाउने हो।भोगाइ, देखाइ, सुनाइमा विचार, भावना अनि बुद्धिको प्रयोग गरिन्छ। प्रेम वा लभ वा मायालाई बुद्धि, विवेकभन्दा पर राखेर महसुस वा शुद्ध मनले गरेर हेर्न सकिदैंन र ! बिना मिसावट, बिना तौल, बिना मापन अझ भनौं तथस्ट भएर हेरौं न एकपल्ट ।
मानिस विवेकले अन्य जीवभन्दा सर्वोकृष्ट प्राणी मानिन्छ।बुद्धि, विवेकको प्रयोगविहिन त मानिस नै भएन नि फेरि ! हो, प्रेम वा लभ वा माया क्रिया, प्रतिक्रिया, केहीँ पाउन त, केही गुमाउन मात्र नभई भावनाहरूको सुन्दर समिश्रणसहितको महसुस पनि त हो नि !
आजको कृत्रिम दुनियाँमा प्रेम वा लभ वा मायालाई हर्मोनसँगै मात्र सीमित अहिल्यै नराखौं वा निचोड ननिकालौं कि ! यसरी भनौं न अहिले सबै हर्मोनल लभ, प्रेम वा लभ वा माया हो तर सबै प्रेम वा लभ वा माया हर्मोनल लभ नहुन पनि सक्छ। जुन कुरा परमानन्द पात्रमार्फत लेखकले घुमाउरो पारामा यसरी स्वीकार गरेको होकि भन्ने मलाई भान भयो। साँचो प्रेम भनेको त अनुभूति हो, समर्पण ।अझ भन्नुपर्दा त्याग पनि हो सर । (पृष्ठ ६८) प्रतिरूप उपन्यासका लेखक खगराज बरालले एक आम मानिसले भोगेको भोगाइलाई समेटेर बडो कलात्मक र प्रतिबिम्बात्मक ढङ्गले समाज, देश र आम मानिसहरूको अनुहार ऐनामा देखाएको झै महसुस हुन्छ।घटनामार्फत शिक्षा, स्वास्य्थ, रोजगार, कृषि, यातायातदेखि मानवीय सोचाइ अनि आम मनोविज्ञानसम्मको विषयवस्तुलाई सटिक, मनन्यो ग्य तथा विचारणीय हिसाबले प्रस्तुत गरिएको प्रतिरूप मा पाठकलाई पढ्दा पढ्दै भावुक बनाएको छ, साथै सोचनीय बनाएको छ।
नवीनको जीवनमा हेड सर र नरेश सरको मार्गदर्शकको रूपमा रहेको भूमिकालाई लेखकले कलात्मक ढङ्गले एउटा बीजबाट फल दिने बिरूवासम्म बनाउने झै सही समयमा सही मार्गनिर्देशनको महत्वलाई उपन्यासमा औल्याएको छ।विशेष गरी टिनएज उमेरसमूहमा व्यक्तिमा आउने परिवर्तनलाई सही रूपमा व्यवस्थापन गर्दै भावी जीवनको गोरेटो कोर्न एउटा असल गुरुको खाँचो पर्दछ।बा, आमा, दाजु, दिदी, शिक्षक वा जो सुकै भए पनि निर्भर जीवनलाई दायित्वबोध गर्न सक्ने असल बाटामा हिड्न सिकाउने गुरुको स्वरूप हुन सक्छन्।
एउटा न्यून मध्यम परिवारमा हुर्कदै गरेको नव जवानको भावी परिवारप्रतिको भूमिका, सामाजिक मूल्य मान्यतामा रहेर अधि बढ्ने काम सधै चुनौतीपूर्ण नै हुने कुरालाई प्रस्तुत गरेको पाइन्छ।हुन त मानिस जन्मदेखि नै अभावपूर्ण र चुनौतीपूर्ण रूपमा जीवन बिताईरहेको हुन्छ।डर, त्रास, अभाबमा पनि असल नियतका साथ कर्म गरे भगवानले पनि साथ दिने कुरालाई उपन्यासबाट प्रस्ट्याउन खोजेको देखिन्छ। मानिसले आफ्नो आधारभूत आवश्यकता परिपूर्ति गर्नेदेखि लिएर परिवार, समाज र देशका लागि केही योगदान पु-याउन पनि सदैव असल गुरूको खाँचो पर्दछ, जसरी अर्जुनलाई कृष्णले मार्गदर्शन गर्नुभो।
एउटा सामन्य परिवारमा आइपर्ने बाधा, समस्या अड्चनलाई बा आमाले दृढ विश्वासका साथ कसरी निभाउछन्र आफ्नो सन्तानको भविश्यका लागि कतिसम्म दुःख भोगी समर्पण गर्छन् भन्ने कुरालाई प्रतिरूप&ले छर्लङ्ग पारेको छ।हाम्रो समाजतिर ‘किन हामी गरिब छौ? भन्दा पैसा नभर भन्ने मानिसको भिड छ।समाजमा चेतनाको स्तर कस्तो छ? शिक्षा अनि नागरिक शिक्षाको महत्व बुझेको नवीनका आमाले नवीनको भविष्य निर्माणमा पु-याएको योगदानले
पाठकलाई कताकता आफ्नी आमाको याद आउने बनाउँछ।
एउटा महिलाले जिन्दगीमा भोगेको बाध्यात्मक भोगाइलाई लिपिबद्ध गरी पठन योग्य बनाइएको प्रतिरूप पढेपछि दुर्घटनाका घटनाहरूमा मृत्युको घटनालाई अलि कम गरेर दुर्घटना पछिको समयमा आइपर्ने समस्या र समस्याको व्यवस्थापनलाई पनि जोड दिन सके पाठक रुदै, सिक्दै गर्ने काम अलि बढी गर्थो कि भन्ने उपन्यास पढ्दा महसुस हुन्छ। नवीन र आमाको नागरिकता बनाउँदाको घटनालाई जीवन्त रूपमा प्रस्तुत गरेका लेखकले निडर, सहासी नवीनको बा प्रमुख जिल्ला अधिकारीको अगाडि निरिह बनेको र बाले यस्तै ठूलो मान्छे बन्न पर्छ (पृष्ठ ) भनेर नवीनलाई भनेको प्रसङ्ग र आमाको साहसीपूर्ण र ममतामयी भावनासँगै शिक्षाको महत्वलाई बुझाउने कोसिस गरेको प्रसङ्ग ज्यादै मन छुने किसिमका छन्।
प्रतिरूपमा प्रस्तुत गरिएको पात्रहरू, पात्रको भूमिकाले एउटा कथाको रूपमा मात्र नभई आम नेपालीको
जीवनलाई झल्क्याएको अनुभूति हुन्छ।उपन्यास पढ्दै गर्दा पात्रहरूको भनाइ तथा संवादका केही अंशहरूले हरेक
पाठकलाई संवेदनशील बनाउँछन्, जुन कुराहरूलाई पृष्ठगत रूपमा उठाउन कोशिस गरिएको छ ।
पृष्ठ ४६ र ४७ मा रिक्सा दुर्घटनामा भिड मुकदर्शक बनेको अवस्थामा नवीनको मानवीय एवं साहसपूर्ण कामले
गर्दा रिक्सामा सबार महिलाको ज्यान जोगिएको घटना विरलै मात्र सुन्न र देख्न सकिने वास्तविक जीवनको घटनाको
प्रतिनिधित्व गरेको छ।बुद्धिमतापूर्वक मानिसले आफ्नो मानवीय भूमिका सदैव पूरा गर्नुपर्नेमा वर्तमान देखावटी तथा
भर्चुअल दुनियाँमा फरक सन्देश दिन खोजेको देखिन्छ।
पैसा कसले तिर्छ ?
म तिर्छु।उहाँ होसमा आएपछि सबै कुरा गरौला। पहिला उहाँको उपचार गर्नोस् न।मान्छे बचाँउने काम पहिलो हो। नवीनले अस्पतालका स्टाफसँग भनेको कुराले नवीन एक साँच्चिकै मन र धन दुवैका धनी व्यक्ति भएको पहिचान झल्क्याउँछ।अनि, पूजीवादले मस्त लठ्ठिएको समाज र बुद्धिमान् भनिएको मानिस अनि तिनीहरूको अभिभावक सरकार, राज्य, शासक तथा प्रशासनको नागरिकप्रति, अझै भनौं मानवप्रतिको भूमिकालाई प्रश्न उठाएको छ। पृष्ठ ७४ मा हा सर, यिनीहरू मैदान जान लागेको। भन्ने परमानन्दको भनाइमा मैदान स्थानीय तथा प्रतीकारात्मक शब्द मात्र नभई तत्कालीन स्वास्य्थ पूर्वाधार, स्वास्य्थ शिक्षा तथा सरसफाईको अवस्थालाई राम्ररी चित्रण गरेको छ। अझै भनौं आफूले बाल्यकालमा स्कुल पढ्दा खेरी जङ्गलमा गई सौच गरेको यादले झन् कताकता आफ्नै कथा पनि लाग्न पनि थाल्छ कतिपय पाठकहरूलाई।
पृष्ठ ७७ र ७८ मा मोटरसाइकल दुर्घटनापछि गाई धनीले परमानन्दको गोडा समाउँदै भनेको कुराले त पाठकलाई साह्रै विचलित बनाउँछ। तत्कालीन अवस्थाको समस्याबाट बच्न परमानन्दले चलाखीपूर्ण रुपले गाईधनी वृद्धासँग गरेको व्यवहारले एक उपल्लो पद, जाती, हैसियत भएका व्यक्तिबाट तल्लो दर्जा भनिने सोझा,इमान्दार, दुर्बल मान्छेप्रति गर्ने दुर्व्यहारले समाजको सोचलाई मात्र नभई सम्पूर्ण मानव जातीलाई कहीँ कतै हामी पनि यस्तै व्यवहार गरी रहेका त छैन ? भन्ने प्रश्न पाठक स्वयम् लाई सोध्न बाध्य बनाउँछ।
पृष्ठ ८८ मा हेडसरले कारण किटेरै सामन्य जनताको छोराछोरी पनि पढ्ने लेख्ने गरेमा टाठाबाठा हुने अनि समाजमा धनी मानिहरूको वर्चस्व हट्ने भन्ने भावको भनाइले तत्कालीन सामन्त वर्गको विचार तथा प्रतिनिधि गरेको मात्र नभई वर्तमान शासकहरूको आधुनिक देखावटी र कागजमा सीमित विकास र सपनालाई राम्ररी व्यङ्ग्यात्मक रूपमा प्रहार गरेको छ।
पृष्ठ १०६ मा लाहुरेले भनेको रेलको टायरमा हावा हाल्ने कामका लागि जागिर खान जाने हो ? प्रश्नले मजाकीय भाव मात्र व्यक्त गरेको देखिए पनि तत्कालीन गाँउघरदेखि सिङ्गै देशको विकास, निर्माण र पूर्वाधारको अवस्थालाई समेत अर्थाइएको बुझ्न सकिन्छ।
पृष्ठ १२१ मा यो देशमा यस्तै हो।कानुन भएको मुलुक भए पो।सम्झौता गर्छन्, लागू गर्दैनन्।मानिसहरू पनि माग पूरा गर्न राजमार्ग नै बन्द गर्दछन्।भन्ने दिग्दारीपूर्ण अभिव्यक्तिले देशको समग्र शासन प्रणालीको भूत, वर्तमान अनि सायद भविष्यको अवस्थालाई समेत इङ्गित गरेको देखिन्छ।आजभोलि सामाजिक सञ्जालतिर मासु भात खाइयो, यस्तो रोड पाइयो भन्ने रिल खुब भाइरल भएको पाइन्छ।सबैले आफ्नो मात्र कर्तव्यपालन गरे पनि कसैले कसैलाई गाली दिनु नपर्ने वर्तमान परिस्थतिलाई इङ्गित गरेको पाइन्छ।
पृष्ठ १५५ मा छोरा सुधार्न बिहे गरिदिन्छन् पनि भन्थे। यो सायद भनाइ मात्र नभई सामाजिक, शारीरिक र मानवीय मूल्य मान्यतालाई स्थापितका लागि आवश्यकीय भएकाले भन्ने गरेको होला।कसैको छोरा सुधार्न फेरि कसैको छोरीलाई किन बलि बनाउने भन्ने प्रश्न पनि होला।लेखकले बिबाह किन आवश्यक छ भन्ने प्रश्नको उत्तर बढो सचेत ढङ्गबाट प्रस्तुत गरेका छन्।
पृष्ठ १७० मा कालीले लोग्नेको मृत्युपछि जबरजस्ती बिर्सन कोसिस गरे भनेर उक्त कहानीलाई अन्त्य गरेको रहेछ।एउटा दुर्घटनापछिको अवस्थाबाट त्यो पनि भखर्रै विवाह गरेको लोग्नेको मृत्युले गर्दा पर्ने मनोवैज्ञानिक, शारीरिक, सामाजिक र पारिवारिक असरलाई प्रस्तुत गर्न सकिए अझ पाठकको रुचि बढ्ने थियो कि सायद जिन्दगीमा घट्ने यस्ता महत्त्वपूर्ण/पीडादायी घटनापछिको फ्याल्सब्याकले मानिसलाई पार्ने नमिठो क्षणलाई कसरी व्यवस्थापन गर्ने भनेर घटनामा जोड्न सकिए पढ्न मात्र नभई गतिलो सन्देश दिन सकिन्थो कि भन्ने महसुस पाठकलाई हुन्छ। पृष्ठ १९४ को अन्त्यतिर आइमाईहरूको सोचाइमा लोग्ने जातको व्यवहारलाई निकै चोटिलो र अर्थपूर्ण ढङ्गले प्रस्तुत गरेको छ।मानिसको बोली र व्यवहारबिचको अन्तरलाई घटनामार्फत लेखकले मानिसलाई सधैं जटिल परिस्थितिमा मात्र चिन्न सकिने भनाइलाई चित्रण गरेको छन्।
पृष्ठ २०१ मा लोग्ने मान्छेले संसार जित्छ तर स्वास्नीसँग हार्छ भन्थे तर शङ्कर स्वास्नीसँग हार्न पाएनन्।बरु आफ्नै दाजु र बासँग हारे। भन्ने संवादले निकै गहकिलो रूपमा पुरूष र महिलाको सम्बन्धलाई पारस्परिक, परिपूरक मात्र नभई पुरुषको महिलाप्रतिको झुकावलाई व्यक्त गर्न खोजिएको छ। शङ्करले आफ्नो श्रीमतीलाई कानुनी अधिकार र पैतृक सम्पत्तिको उपयोगबाट बञ्चित गराउँदा विपितृ छोरीले पाएको दुःखलाई कानुनी अभावले गर्दा मानिसले नागरिक भएर बाँच्न नपाउने कुरालाई राम्रोसँग इङ्गित गरिएको छ।
भो, मलाई केही चाहिँदैन।कुनै आशा पनि छैन जीवनमा।आशा पूरा भएन भने निराशा हुइन्छ।पृष्ठ २१३ मा अस्मिताको यो भनाइले पाठकलाई पनि एकछिन त विचलित बनाउँछ।काम गर फलको आशा नगर भन्ने भनाइ हामीले
धेरै पटक सुनि सक्यौं होला।आफ्नो हात वा प्रयासभन्दा बाहिरको कुरामा बढी आशा राख्नु उपयुक्त हुँदैन भन्ने सन्देश लेखकले दिन खोजेको आभास हुन्छ।एकजना विश्व प्रसिद्ध धनाढ्यले भनेका थिए रे, जुन काम वा मेहनत अहिले गर्न सकिन्छ भनेर थाहा हुँदाहुँदै गरिदैँन, त्यही काम वा कुराले हामीलाई भविष्यमा तनाव गराउँदछ। त्यसैले गर्न सक्ने र सम्भव भएसम्म आफ्नो तर्फबाट पूरा बल लगाऊ भन्ने आसय उपन्यासमा पाइन्छ।
पृष्ठ २१५ मा छोरामान्छे भएर यसरी आँसु निकालेको सुहाउँदैन है नवीन सर।कालीले सम्झाइन्। आँसुलाई कमजोरीको प्रतीकको रूपमा लिने हाम्रो समाजमा छोरा मान्छे भनेको पत्थरको मुटु भएको प्राणी हो भन्ने भाष्यलाई संवादमार्फत चोटिलो रूपमा प्रहार गरेको छन् लेखकले। एक साइकोलोजीको अध्ययनअनुसार अक्सर नरुने मान्छेहरू नै कमजोर अनि भित्रभित्रै दबिएको हुन्छन् रे। रुने वा नरुने कर्मले मात्र मान्छेको पुरुषत्व झल्कदैन।अरूलाई आफ्नो कारणले आँसु निकाल्न नपर्ने बन्न सक्नु नै पुरुषार्थ हो ।
तिम्रा बाबा त शम्भु नै हुन् तर बाचाहिँ प्रबिन। नवीनको आमाले नवीनलाई भनेको यो हरफले एक बाबाको कर्तव्य र भूमिकालाई बडो मिठो रूपमा लेखकले पृष्ठ २३२ मा पस्केका छन्। भनिन्छ नि रगतको नाताभन्दा भावनाको नाता गाढा हुन्छ।बालाई बायोलोजिकल र बाबालाई कर्तव्य र दायित्व निभाउने शब्दमा व्यक्त गरेका लेखकले सम्पूर्ण छोराछोरीका बुबाहरूलाई बायोलोजिकलमा मात्र सीमित नहुनु भन्ने सामाजिक सुझाव दिइएको आभाष हुन्छ। उपन्यासको अन्त्यमा जीवनको उकालो र ओरालो यात्राहरूलाई लेखकले आखिर जीवन भनेको तोरणको फूलजस्तै पो रहेछ हल्लिरहने कहिले प्रबिन भएर, कहिले मैया भएर, काली भएर। भनेर बडो सुन्दर ढङ्गले परिभाषित गरेका छन्।
समग्रमा प्रतिरूप एक सामान्य उपन्यास मात्र नभई हाम्रै जीवनको भोगाइको वास्तविकता अनि परिस्थतिको सङ्गालो हो ।लेखक खगराज बराललाई प्रतिरूपका लागि बधाईका साथै धन्यवाद भन्दै लेखकबाट आगामी दिनमा पनि यस्तै जीवन्त र सामजिक विषयवस्तु झल्कने आख्यानहरू पढ्न पाइने आशाका साथ नमन ।
प्रतिक्रिया