अमेरिकाको जर्जिया राज्यमा जन्मिएका अमेरिकी नागरिक जुआन कार्लोस लोपेज-गोमेजलाई अवैध आप्रवासी भन्दै फ्लोरिडामा प्रहरीले पक्राउ गरेको थियो। उनी बुधबार राजमार्गबाटै प्रकाउ परेका थिए। तर अदालतमा जन्म प्रमाणपत्र पेश भएपछि उनलाई बिहीबार साँझ रिहा गरिएको हो।
२० बर्षिय लोपेज-गोमेजको जन्म ग्रेडी काउन्टी जर्जियामा भएको हो । उनी हाल कैरो शहरमा बसोबास गर्छन । निर्माण कार्यका लागि फ्लोरिडाको टलाहासी जाँदै गर्दा उनलाई फ्लोरिडा हाइवे पेट्रोल( राजमार्ग गस्ती )ले रोकेर पक्राउ गरेको थियो।
अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तनको ४८-घण्टे हिरासत आदेशमा उनी एक रात कारागारमा राखिए। तर बिहीबार अदालतमा उपस्थित हुँदा उनकी आमाले उनको असली जन्म प्रमाणपत्र प्रस्तुत गरिन्। न्यायाधीश लाशन रिगान्सले सक्कली कागजात जाँच गरी दस्तावेजलाई असली ठहर गरे।
हाल फ्लोरिडामा अवैध आप्रवासीमाथि कडा कारबाही गर्न एसबि ४ -सी नामक कानुन लागू गरिएको छ, जसलाई अहिले एक संघीय न्यायाधीशले रोक लगाएका छन्।
मानवअधिकार अधिवक्ता एलाना ग्रीरले भनिन्, “कसैले पनि यसरी गैरकानुनी रूपमा अमेरिकी नागरिकलाई मात्र कागजको भरमा कारागारमा राख्न मिल्दैन। यसले हाम्रो प्रणालीको भयावह कमजोरी देखाउँछ।”
यो घटनाले अमेरिका भित्रै पनि नागरिकताको प्रमाण हुँदाहुँदै आप्रवासन प्रणालीमा गम्भीर त्रुटिहरू अझै विद्यमान रहेको देखाएको छ ।
प्रतिक्रिया