रालेमा नेपाल दिवस मनाइँदै

इनेप्लिज २०८२ वैशाख ५ गते २२:२६ मा प्रकाशित

कृष्णराज खनाल

राले, नर्थ क्यारोलिना । विगतका वर्षहरुझै यस वर्ष पनि नर्थ क्यारोलिनाको मोरिसभिलमा शनिवार अर्थात् अप्रिल १९ मा नेपाल दिवस मनाउने तयारी भइरहेको छ । नर्थ क्यारोलिनास्थित नेपालीहरुको साझा संस्था नेपाल सेन्टर फर नर्थ क्यारोलिना एनसीएनसी यसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

टाउन अफ मोरिसभिल र एपेक्स तथा वेक काउन्टीले अप्रिलको तेस्रो शनिवारलाई नेपाल दिवसको रुपमा घोषणा गरे अनुरुप सो कार्यक्रम गर्न लागिएको हो ।

नेपाल दिवसको कार्यक्रम नेपालीहरुको बाक्लो उपस्थिति रहेको मोरिसभिलस्थित सेडर फोर्क डिष्ट्रिक पार्कमा हुने जनाइएको छ । एनसीएनसीले जारी गरेको विज्ञप्ति अनुसार, कार्यक्रमको सुरुवात नेपाली विविधता झल्किने साँस्कृतिक झाँकीसहित हुने छ । संस्थाकी महासचिव कल्पना भण्डारी अर्यालले दिएको जानकारी अनुसार, नेपाल दिवसमा नेपाली मूलका र नेपाललाई माया गर्ने समुदायका झण्डै दुइ हजार मानिस सहभागी हुनेछन् । सो अवसरमा नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदान, नेपाली नृत्य र गीत सहितको रमाइलो कार्यक्रम दिनभर सञ्चालन हुनेछ । यस अतिरिक्त नेपाली खाद्य परिकार र नेपाली कला र संस्कृति झल्कने खालका स्टलहरु पनि राखिनेछ ।

संस्थाका अध्यक्ष डा. विकास शाक्यका अनुसार, प्रवासमा स्थानीय सरकारको मान्यतासहित नेपाल दिवस मनाउन पाउनु आफैमा गर्वको कुरा भएको बताउँदै यस कार्यक्रमले प्रवासमा नेपाली संस्कृतिलाई जीवन्त राख्न र अमेरिकी मूल प्रवाहमा नेपाली समुदायको साँस्कृतिक, सामाजिक र आर्थिक योगदानलाई स्थापित गर्न मद्धत पुग्छ भन्नुभयो । डा. शाक्यले विदेशिएका दोस्रो पुस्ताका नेपालीलाई आफ्नो मौलिक परम्परा र स्वदेशसँग जोडिराख्न यसले ठूलो योगदान पुर्याउँछ भन्दै सहभागी सबैलाई नेपाली भेषभूषासहित उपस्थित हुन पनि आव्हान गर्नुभएको छ ।

प्रतिक्रिया