डिसी महानगरवासीका लागि गौरवको क्षण — नेवा अर्गनाइजेशन अफ अमेरिका (एनओए )ले कयेता (सामूहिक ब्रतबन्ध ) समारोह गर्दै

इनेप्लिज २०८२ वैशाख ६ गते ०:२२ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा २४ बर्ष अगाडी अर्थात् सन् २००१ मा स्थापित भएको नेवा समुदायको अत्यन्तै क्रियाशील गैर मुनाफा सामाजिक सँस्था नेवा अर्गनाइजेशन अफ अमेरिका (एनओए )ले १३ औ कयेता (सामूहिक ब्रतबन्ध ) समारोहको आयोजना गर्ने भएको छ ।

आगामी जुलाई ५ ,२०२५ का दिन वाशिंगटन डिसी स्थित काली मन्दिरमा गर्ने भएको छ । यसमा सहभागिता जनाउनेहरुले आगामी जुन २१ ,२०२५ सम्म दर्ता गराई सक्नु पर्ने छ । यस बिषयमा बिस्तृत जानकारी लिन सँस्थाका दिभाकर धौभडेल तथा रमिता श्रेष्ठलाई सम्पर्क गर्न सकिनेछ ।

कयेता पूजा (सामूहिक ब्रतबन्ध)के हो : यो एक विशिष्ट र गहिरो धार्मिक संस्कार हो । यसले किशोरहरु युवा जीवनमा प्रवेश भएको संकेत गर्दछ। यसमार्फत युवाहरू धर्मशास्त्र अनुसार जिम्मेवारी बहन गर्न , ज्ञान प्राप्त गर्न र आस्था पूर्वक कर्तव्य निर्वाह गर्न सक्षम हुने मानिन्छ। यस पावन कर्मकाण्डलाई प्रतिष्ठित नेवा समुदायका पण्डित बासव राजोपाध्यायले गर्नेछन् ।

नेपाली भाषामा “कयेता पूजा” भन्नाले एक धार्मिक विधिलाई जनाइन्छ, जुन ब्रतबन्ध वा जनै लगाउने संस्कारको एक विशेष रूप हो। यो विशेष रूपमा नेवा समुदायमा प्रचलित छ । युवाबस्थाबाट प्रौढ जीवनतर्फको आध्यात्मिक प्रवेशको प्रतीक मानिन्छ।

कयेता पूजा एक आध्यात्मिक संस्कार हो, जसले युवा बालक तथा किशोरहरुलाई धार्मिक, सामाजिक र नैतिक कर्तव्यहरू ग्रहण गर्न तयार बनाउँछ। यो समारोह मार्फत युवाले आफ्नो बाल्यकाललाई बिदाइ दिँदै युवातर्फको यात्रा आरम्भ गर्छन्।

नेवा समुदायको संस्कार र परम्परामा यो पूजा अत्यन्तै महत्वपूर्ण मानिन्छ। यसले बालक तथा किशोरहरुलाई धार्मिक अनुशासन, ज्ञानप्राप्ति, पारिवारिक जिम्मेवारी र सामाजिक भूमिकाको तयारी गराउँछ। यसकारण, कयेता पूजा केवल एक धार्मिक विधि नभई जीवनको एउटा ऐतिहासिक मोडहो, जसले व्यक्तिको सामाजिक र आध्यात्मिक रूपमा परिपक्वता दर्शाउँछ।

यसरी कयेता पूजा नेवा संस्कृतिको एक अभिन्न अङ्ग हो, जसले परम्परालाई जीवन्त राख्न र नयाँ पुस्तालाई मौलिक पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्दछ।

नेवा अर्गनाइजेशन अफ अमेरिका (एनओए )को लक्ष्य तथा उद्धेश्य :

नेवा समुदायलाई लोकतान्त्रिक मंच उपलब्ध गराउँदै ऐतिहासिक सम्पदाको रक्षा, समसामयिक चुनौतीहरूको समाधान र भावी पुस्ताका लागि सशक्त आधार निर्माण गर्नु।

अमेरिकी मूलधारमा नेवा समुदायको सशक्त समावेशीकरण र नेपालसँग गहिरो सम्बन्ध कायम गर्नु।

नेवा समुदायलाई नेतृत्व क्षमता अभिवृद्धि गर्दै सामाजिक, आर्थिक, भाषिक, शैक्षिक, सांस्कृतिक र प्रविधि विज्ञानका क्षेत्रमा समुदायलाई उन्नत बनाउनु।

नेवा अर्गनाइजेशन अफ अमेरिकाले नेवा समुदायको उज्ज्वल भविष्यको मार्गचित्र कोर्दै अमेरिकामा मौलिक पहिचान जोगाउँदै सामूहिक पहिचान र एकताको सन्देश दिएको छ।

प्रतिक्रिया