अमेरिकाको फ्लोरिडा राज्यको फ्लोरिडा स्टेट युनिभर्सिटी (बिश्वबिद्यालय -एफएसयू) मा भएको गोलीकाण्डले सम्पूर्ण विश्वविद्यालय समुदायलाई स्तब्ध बनाएको छ। गत बिहीबार २० वर्षीय विद्यार्थी फिनिक्स आइक्नरले छात्र संघ नजिक अन्धाधुन्ध गोली चलाउँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
मारिने २ जना मध्ये एक जना भारतीय मूलका तिरु छब्बाको ज्यान गएको छ ।
प्रहरीका अनुसार संदिग्ध आइक्नर बिहान ११ बजे परिसरको सवारी साधन अड्डा (पार्किङ गराज)मा आएर लगभग एक घण्टा त्यहीँ बसे। ११:५१ बजे उनले सवारी साधन अड्डा छाडे र ११:५६–११:५७ को बीचमा गोली प्रहार गरे। घटनाको जानकारी ११:५८ मा ९११ मा दिइएको थियो। मध्यान्हमा प्रहरीले उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिए। उनी अस्पतालमा छन् र बाँच्ने सम्भावना छ।
बिश्वबिद्यालयको गोलीकाण्डमा ज्यान गुमाउने तीहरू: तिरु छब्बा र प्रशिक्षक रोबर्ट मोरालेस को हुन्?
फ्लोरिडा राज्य बिश्वबिद्यालयमा भएको भीषण गोलीकाण्डमा ज्यान गुमाउने दुई मध्ये एक व्यक्ति थिए तिरु छब्बा जो साउथ क्यारोलाइनाको सिम्पसनभिल निवासी तथा दुई सन्तानका पिता थिए। उनी अरामार्क कोलिजिएट होस्पिटालिटीका क्षेत्रीय उपाध्यक्ष थिए।
४५ बर्षिय छब्बाले २५ वर्षभन्दा बढी समयसम्म अरामार्कमा कार्य गरे । दक्षिणपूर्वी अमेरिका भरिका विश्वविद्यालयहरूसँगका क्याटरिङ (खानपान)सम्झौताहरूको व्यवस्थापन गर्दथे। उनले आफ्नी श्रीमती वन्दना जोशी र दुई सन्तानलाई छोड़ेर गए । घटनाको दिन उनी कर्मचारी र विश्वविद्यालय अधिकारीहरूसँगको बैठकका लागि आएका थिए र सोही क्रममा गोली लागेर ज्यान गुमाए।
उनका सहकर्मी र एफएसयु चमेनागृह प्रबन्धक एन्थोनी सिसाटेलोले भने, “छब्बासँग धेरै जानपहिचान थिएन तर भेट हुँदा जति उहाँलाई देखेँ, म उहाँको इमानदारिता र पेशागत समर्पणबाट प्रभावित थिएँ।”
घटनाको समय बिद्यालयमा ६० जना माध्यमिक बिद्यालयका विद्यार्थी भ्रमणमा आएका थिए, जसले गोलीकाण्डका कारण कुर्सीमुनि लुकेर ज्यान जोगाउनुपरेको थियो।
दोस्रो पीडित थिए रोबर्ट मोरालेस , जो मायामी निवासी तथा पूर्व माध्यमिक बिद्यालयका अमेरिकी भकुण्डो (फुटबल)प्रशिक्षक थिए। उनका दाजुले एक्समा लेखे, “आज मैले मेरो भाइ गुमाएँ। उनले आफ्नो काम, श्रीमती र छोरीलाई माया गर्थे।”
गोली चलाउने फिनिक्स आइक्नर एक २० वर्षीय विद्यार्थी हुन् । आफ्नी सौतेनी आमा तथा प्रहरी जेसिका आइक्नरको हतियार प्रयोग गरी बिश्वबिद्यालयमा अन्धाधुन्ध गोली प्रहार गरेका थिए। उनको उद्देश्य अझै अज्ञात छ भने उनी हाल अस्पतालमा उपचाररत छन्।
छब्बा र मोरालेसको परिवारमा अहिले शोकमा डुबेका छन् । “उनीहरूले इस्टरको तयारी गर्नुपर्ने बेलामा अन्त्येष्टि गर्नुपरेको छ,” पीडितको वकिलले भने।
घाइते ६ मध्ये सबैको अवस्था स्थिर रहेको छ भने दुई जना शुक्रबार रिहा हुन सक्ने अस्पताल स्रोतले जनाएको छ।
आरोपीको सौतेनी आमा जेसिका आइक्नर लिओन काउन्टी शेरिफ कार्यालयकी सहायक प्रहरी हुन्। उनले प्रयोग गर्ने व्यक्तिगत हतियार घटनास्थलमा फेला परेको छ। घटना हुँदा उनी एक माध्यमिक बिद्यालयमा कर्तब्यमा थिइन् । र ,अहिले उनि अनिश्चितकालीन बिदामा गएकी छन्।
बिश्वबिद्यालयका अध्यक्षले घटनालाई “निरर्थक हिंसात्मक त्रासदी” भनेका छन्। विश्वविद्यालयले सबै कक्षा र कार्यक्रम सप्ताहन्तसम्मका लागि स्थगित गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै भने, “ बन्दुक होइन, मानिस दोषी हो।” उनले दोस्रो संशोधन (हथियार राख्ने अधिकार) को रक्षा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए।
प्रतिक्रिया