अमेरिकी सर्वोच्च अदालतको ऐतिहासिक फैसला: टेक्ससबाट भेनेजुएलालीहरूलाई देशनिकाला गर्न ट्रम्प प्रशासनलाई रोक

इनेप्लिज २०८२ वैशाख ६ गते ९:४७ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतले शनिबार बिहान ऐतिहासिक फैसला सुनाउँदै टेक्ससमा रहेका भेनेजुएलाली आप्रवासीहरूलाई तत्काल देशनिकाला गर्न रोक लगाएको छ। यो निर्णय १७९८ मा पारित भएको युद्धकालीन बिदेशी शत्रु ऐन अन्तर्गत गरिएको देशनिकालासम्बन्धी ट्रम्प प्रशासनको प्रयासविरुद्ध आएको हो।

अदालतले ट्रम्प प्रशासनलाई ब्लूबोनेट डिटेन्सन सेन्टर( थुनुवा केन्द्र)मा बन्दी बनाइएका भेनेजुएलालीहरूलाई अर्को आदेश नभएसम्म नहटाउन निर्देशन दिएको छ। न्यायाधीश क्लेरेन्स थोमस र सामुएल अलिटोले बहुमतको निर्णयमा असहमति जनाएका छन्।

यो निर्णय अमेरिकी नागरिक स्वतन्त्रता संघ (अमेरिकी सिभिल लिबर्टीज युनियन)को आपतकालीन अपिलपछि आएको हो। अपिलमा भनिएको थियो कि संघीय आप्रवासन अधिकारीहरूले बिदेशी शत्रु ऐन प्रयोग गर्दै आप्रवासीहरूको देशनिकाला पुनः सुरु गर्ने प्रयास गरिरहेका छन्।

यसअघि दुई संघीय न्यायाधीशले हस्तक्षेप गर्न अस्वीकार गरेका थिए र पाँचौं सर्किट कोर्ट अफ अपिल्स(क्षेत्रीय संघीय अदालत”)ले हालसम्म कुनै निर्णय गरेको छैन।

बिदेशी शत्रु ऐन अमेरिकी इतिहासमा जम्मा तीनपटक मात्रै प्रयोग भएको छ । पछिल्लो पटक दोस्रो विश्वयुद्धको समयमा जापानी-अमेरिकी नागरिकहरूलाई हिरासत शिविरमा राख्न प्रयोग गरिएको थियो।

ट्रम्प प्रशासनले यो कानुन प्रयोग गरेर ट्रेन दे आरागुवा नामको आपराधिक गिरोहसँग संलग्न आप्रवासीहरूलाई तिनीहरूको आप्रवासन स्थितिबिना नै तुरुन्तै हटाउन अधिकार दिएको दाबी गरेको छ।

यो फैसला आप्रवासन कानुन, मानव अधिकार र राष्ट्र सुरक्षाबीचको संवेदनशील सन्तुलनको प्रतीक मानिएको छ।

प्रतिक्रिया