ट्रम्पको चेतावनीपछि इरान–अमेरिका बीच दोस्रो चरणको आणविक वार्ता रोममा जारी

इनेप्लिज २०८२ वैशाख ६ गते १३:२० मा प्रकाशित

संयुक्त राज्य अमेरिका र इरानबीच आज दोस्रो चरणको उच्चस्तरीय आणविक वार्ता इटालीको रोममा भइरहेको छ।

गत सप्ताह अन्त्यमा दुबै देशका अधिकारीहरू ओमानमा भेटेका थिए । यो वार्ताको लागि अरब राष्ट्र ओमानले मध्यस्थताको भूमिका खेलेको थियो। यसपटक पनि ओमान नै मध्यस्थको रूपमा प्रस्तुत भइरहेको छ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व विशेष दूत स्टीभ विटकोफले गरिरहेका छन् भने इरानी पक्षको नेतृत्व विदेश मन्त्री अब्बास अराघ्चीले गरेका छन्।

पृष्ठभूमि:

सन् २०१५ मा इरान र विश्व शक्तिहरूबीच ऐतिहासिक आणविक सम्झौता भएको थियो, जसमा इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्ने प्रतिबद्धता जनाएको थियो, जसको बदलामा प्रतिबन्धहरू हटाइएका थिए।

तर सन् २०१८ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौता त्यागे। त्यसपछि इरानले फेरि यूरेनियम प्रशोधन सुरु गर्‍यो, जुन अहिले ६०% शुद्धतासम्म पुगेको छ । अर्थात् हथियार उत्पादनको स्तर नजिकै झन्डै ९०% पुगेको छ ।

व्हाइट हाउस पुन : फर्किएपछि नयाँ सम्झौतामा पुग्न राष्ट्रपति ट्रम्पले तेहरानलाई दुई महिनाको समय दिएका छन्। उनले २०१५ को भन्दा “झनै बलियो” सम्झौता गरिने बताउँदै सहमति नहुँदासम्म इरानमाथि बम आक्रमण गर्नेसमेत चेतावनी दिएका छन्।

दुवै पक्षको भनाई :

अमेरिकाले वार्तालाई एकातर्फ “सहयोगात्मक” भनेको छ भने अर्कातर्फ इरानमाथि आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्न दबाब दिइरहेको छ। इरानले आफ्नो यूरेनियम प्रशोधन गर्ने अधिकारको बचाउ गर्दै ट्रम्प प्रशासनले “मिश्रित सन्देश” पठाइरहेको आरोप लगाएको छ। तेहरानले वार्ताअघि “अत्यधिक माग र धम्कीपूर्ण भाषा स्वीकार्य छैन भन्दै स्पष्ट रुपमा चेतावनी दिएको छ ।

प्रतिक्रिया