काठमाडौं – नेपालको इतिहासमा चैत १५ एउटा यस्तो दिन हो, जसले सबै नेपाली जनताको आँखा रसाउने स्मृति छाडेको छ । यही पृष्ठभूमिमा, चिकित्सक तथा समाजसेवी डा. सन्देश लम्सालले आफ्नो आधिकारिक ट्वीटरमार्फत सुरक्षा निकाय एवं आन्दोलनरत पक्षहरूप्रति निकै भावुक, मानवीय, र मार्मिक अनुरोध सार्वजनिक गर्नुभएको छ । उक्त ट्विट अहिले देशभर फैलिएको जनआन्दोलनको पृष्ठभूमिमा गम्भीर र सान्दर्भिक बन्न पुगेको छ ।
उहाँ लेख्नुहुन्छ –
“हामी नेपाली जनता कसैका शत्रु होइनौं, हामीहरू पनि हजुरहरूकै आफ्ना दाजुभाई तथा दिदीबहिनीहरू समान हौँ ।”
उक्त ट्वीटको यस एक वाक्यले राज्य र जनताको सम्बन्धलाई पुनः परिभाषित गर्ने जमर्को कसेको छ । वर्षौंसम्म आफ्ना मागहरूको सुनवाई नभएपछि अहिलेका शिक्षक, चिकित्सक, र अन्य आन्दोलनरत समूह सुरक्षाकर्मीमाथि हमला गर्न नभई, आफ्ना दबाइएका आवाज सरकार सामु सुनाउन सडकमा उत्रिएका हुन् ।
नेपाल प्रहरीको आधिकारिक ट्वीटर ह्यान्डलबाट गृह मन्त्रालयको वक्तव्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बहसको लहर नै चलेको छ । यस्तो अवस्थामा डा. लम्सालको उक्त ट्विट केवल सामान्य विचार मात्र नभई मानवीय अनुभूतिले भरिएको एउटा गम्भीर आत्मसमीक्षाको आग्रह बनेर आएको छ ।
मानवीय संवेदनाको रक्षा होस्, सत्ताको होइन
सुरक्षाकर्मीहरूलाई सम्बोधन गर्दै डा. लम्साल थप लेख्नुहुन्छ –
“नेपाल प्रहरीको पोशाकले हजुरहरूलाई हामी नेपाली जनताको जिउ धनको सुरक्षा गर्ने जिम्मेवारी प्रदान गर्दछ, तर त्यो पोशाकभित्र हामी जस्तै सर्वसाधारण नेपाली नागरिक नै रहेको हुन्छ ।”
यस वाक्यले शासकीय शक्ति र मानवीय भावनाको द्वन्दमा हामीले निष्पक्ष र आफ्नो विवेक प्रयोग गरी मार्ग खोज्नुपर्ने विषयमा जोड दिइ इतिहासका काला पाना दोहोरिन नदिन, एक सुरक्षाकर्मीको लाठी वा गोलीले होइन, संवाद र करुणाले नेपालको भविष्य लेखिनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
आदेशभन्दा ठूलो विवेक
जब आदेश क्रुर हुन्छ, तब विवेकको अझ बढी आवश्यकता पर्दछ । जब लाठी उठ्छ र नेपालीको आँसु वा रगत बग्छ – त्यसको असर केवल सडकमा मात्र होइन, नेपालका हरेक कुनाकुनामा पुग्दछ । डा. लम्सालको ट्विटमा व्यक्त यो भावना झन् सशक्त ढङ्गले प्रकट भएको छः
“हजुरहरूका लाठी निशस्त्र जनताका शरीरमा पर्दा, त्यो दुखाइले हजुरकै परिवारका आँखामा पनि आँसु झर्छन् होला ।”
शान्तिपूर्ण आन्दोलनको मूल्य र मर्यादा
शान्तिपूर्ण ढङ्गले सिर्जनात्मक र विवेकपूर्ण आन्दोलनका साथ जनताले सरकार सामु आफ्ना पीडा पोख्न पाउनु हामी सबै नेपालीको नैसर्गिक अधिकार हो । तर यसका साथै डा. लम्सालले आन्दोलनरत पक्षलाई आफ्नो मर्यादाको पनि स्मरण गराउनु भएको छ –
“कृपया संयमताका साथ जोशमा होस् नगुमाएर आफ्ना हक र अधिकारका लागि आवाज उठाउनुहोला ।”
नेपाली जनताले आन्दोलनरत समूह र सरकारका हरेक कदम निकै गम्भीरतापूर्ण ढंगले नियालिरहेका छन् । उचित समयमा जनताले आफ्नो निर्णय पक्कै पनि सार्वजनिक गर्नेछन् ।
डा. लम्सालको यो ट्विट कुनै राजनीतिक नारा वा कुनै समूह विशेषको समर्थन नभई एउटा राष्ट्रप्रेमीको हृदयबाट निस्किएको आह्वानका रूपमा प्रस्तुत भएको छ ।
डा. लम्सालले लेखेझैँ –
“मानवता र पेशागत मर्यादा हजुरहरूका प्रत्येक कदममा झल्कियोस्। मानवताभन्दा ठूलो कुनै धर्म वा आदेश हुँदैन ।”
नेपालको सडकमा अहिले बगिरहेको जनताको लहर र क्रमबद्ध आन्दोलनहरूलाई न्यायको मार्ग, संवाद, करुणा र विवेकबाट मात्र समाधान गर्न सकिन्छ । नेपाललाई हिंसा होइन, समझदारीको बिहान चाहिएको छ । र त्यो बिहान, हाम्रो – तपाईंको – हामी सबैको उचित पहलबाट मात्र सम्भव रहेको छ ।
डा. लम्सालको उक्त ट्विट पढ्न यहाँ क्लिक गर्नुहोस् 👉🏻 https://x.com/DrSandeshLamsal/status/1913655652339368411
प्रतिक्रिया