पश्चिम अफ्रिकी मुलुक बेनिनमा अल-कायदा आतङ्क: जिहादी आक्रमणमा ७० सैनिकको ज्यान गयो

इनेप्लिज २०८२ वैशाख ७ गते १३:३४ मा प्रकाशित

पश्चिम अफ्रिकाको मुलुक बेनिनमा अल-कायदा-सम्बद्ध जिहादी समूह जेएनआईएमले दुईवटा सैनिक चौकीमा आक्रमण गरी ७० जना सैनिक मारिएको दाबी गरेको छ। यो पछिल्लो दशकमा बेनिनमा जिहादीहरूले गरेको सबैभन्दा घातक आक्रमण भएको साइट इन्टेलिजेन्ट ग्रुप(गुप्तचर समूह) ले शनिबार जानकारी दिएको हो।

पछिल्ला वर्षहरूमा बेनिन र यसको समुद्री छिमेकी देश टोगोमा इस्लामिक स्टेटर अल-कायदासँग सम्बद्ध समूहहरूले आक्रमण बढाउँदै गइरहेका छन्। यी समूहहरू पहिले साहेल क्षेत्र (माली, बुर्किना फासो, नाइजर) मा सीमित थिए, तर अहिले तटीय पश्चिम अफ्रिकासम्म फैलिएका छन्।

साइट इन्टेलिजेन्ट ग्रुप(गुप्तचर समूह) अनुसार जेएनआईएमले बिहीबार एउटा विज्ञप्ति जारी गर्दै बेनिनको उत्तरपूर्वी काण्डी प्रान्तको दुई सैन्य चौकीमा गरेको आक्रमणमा ७० सैनिक मारिएको जनाएको छ। यो क्षेत्र राजधानी कोटोनुबाट करिब ५०० किलोमिटर टाढा पर्दछ।

बेनीन सेनाका प्रवक्ता एबेनेजर होन्फोगाले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्। रोयटर्सले पनि यो दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

साहेल क्षेत्रमा २०१२ मा मालीको टुआरेग विद्रोपश्चात् सुरु भएको यो जिहादी विद्रोह बिस्तारै बुर्किना फासो, नाइजर हुँदै बेनिन जस्ता तटीय मुलुकसम्म फैलिएको हो। यो द्वन्द्वका कारण हजारौं मानिसको ज्यान गएको छ र लाखौं विस्थापित भएका छन्।

सन् २०२० देखि २०२३ सम्म माली, बुर्किना फासो र नाइजरमा पाँच सैनिक कू ( सरकार परिवर्तन)भए। यिनले पारम्परिक सहयोगी फ्रान्स र अमेरिका सँगको सम्बन्ध तोडी रूससँग सहकार्य गर्न थालेका छन्।

प्रतिक्रिया