नयाँ दिल्ली — अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको चारदिने भ्रमणमा सोमबार नयाँ दिल्ली आइपुगेका छन्। यो भ्रमण भारत र अमेरिका बीच व्यापारिक सम्झौता, ट्रम्प प्रशासनसँगको सम्बन्ध सुदृढीकरण, र अमेरिकी करहरूबाट बच्ने प्रयासको सन्दर्भमा अत्यन्तै महत्त्वपूर्ण मानिएको छ।
उपस्थित दिनमै प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा भान्सले द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल गर्नेछन्। विशेषगरी फेब्रुअरीमा मोदी र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाशिङ्टनमा भएको भेटको कार्यान्वयनबारे गहिरो संवाद हुने अपेक्षा गरिएको छ।
भान्सको आगमन केही घण्टापछि पोप फ्रान्सिसको निधनको खबर आएको थियो। भान्सले इस्टर सन्डे अर्थात् इस्टर पर्वको दिन रोममा पोपसँग भेट गरेका थिए। उनले सामाजिक संजाल ‘एक्स’ मा श्रद्धाञ्जली दिँदै लेखे, “उहाँलाई म अन्तिमपटक देख्दा निकै अस्वस्थ देखिनु भएको थियो, तर उहाँको कोभिड-१९- को समयको प्रवचनले सधैं मलाई प्रेरणा दिनेछ।”
प्रधानमन्त्री मोदीले पनि पोप फ्रान्सिसको स्मरण गर्दै भने, “उहाँ करुणा, विनम्रता र आध्यात्मिक साहसको प्रतीक हुनुहुन्थ्यो। बाल्यकालदेखि नै गरीब र पीडितको सेवामा समर्पित हुनु भएको थियो।”
भारत र अमेरिकाले सन् २०३० सम्ममा आपसी व्यापार ५०० बिलियन डलर पुर्याउने लक्ष्य राखेका छन्। यदि सफल भएमा यसले दुई देशबीचको कूटनीतिक सम्बन्ध पनि थप बलियो बनाउनेछ।
सिबिएसन्यूजले जनाए अनुसार भान्स, उनकी पत्नी उषा भान्स (भारतीय मूलकी हिन्दू) र तीन बच्चासहित नयाँ दिल्ली आइपुगेका हुन्। उनीहरू अक्षरधाम मन्दिर पुगेका छन् र आगामी दिनमा ताजमहल र आमेर दुर्गा भ्रमण गर्ने कार्यक्रम रहेको छ।
भारत अमेरिकी रणनीतिक साझेदार हो र “क्वाड” समूहको सदस्य हो, जसले चीनको प्रभावलाई नियन्त्रणमा ल्याउने उद्देश्य राखेको छ। राष्ट्रपति ट्रम्पले यस वर्ष भारतमा हुने क्वाड सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ।
ट्रम्प प्रशासनसँग राम्रो सम्बन्ध बनाएका मोदीले भारतमा तेल, ऊर्जा र रक्षा सामग्रीको खरिद बढाउने प्रतिबद्धता व्यक्त गर्दै ब्यापार युद्धको असर न्यून पार्ने प्रयास गरेका छन्।
कृषि, खाद्य प्रशोधन, गाडीहरुका पूर्जा, औद्योगिक उपकरण, चिकित्सा सामान र गहना उद्योगमा ट्रम्पका करहरूले भारतलाई गम्भीर असर पार्न सक्ने भएकोले यो वार्ता भारतका लागि अत्यावश्यक भएको विश्लेषण गरिएको छ।
प्रतिक्रिया