शिक्षा–शिक्षा भनी धेरै चिच्याउँछन् सदा दिन
कस्तो शिक्षा भए राम्रो यहाँ भन्दैन कोही जन
गरिबहरको लागि शिक्षा एकथरि हुन गो
सम्भ्रान्त धनीको लागि अर्कै शिक्षा सुरु भयो
बालपन हुँदादेखि सुरु भयो विभेद यो
कसैले पुर्न चाहेनन् खाडल हाम्रो विभेदको
हुँदा खाने, हुने खाने अन्तर भो समाज यो
सर्वशक्ति भयो पैसा वर्गसंघर्ष चम्कन
गरिब दिनहीनलाई सधैँ घाँटी अठ्याउने
पैसाको मातले मान्छे दिशाहीन भयो यहाँ
सर्वसम्पन्न हुँ भन्दै धाक लाउँछ जहाँतहाँ
सर्वश्व अर्पण गर्दै प्रमाणपत्र लियो जब
कोरा कागजको खोस्टो बोकेर हुनु के छ र ?
सिक्नुपर्ने थियो सीप किशोरवयमा सबै
प्रमाणपत्र लिइ हातमा कसरी टर्छ भोक नै ।
(कवि सिलवाल नमोबुद्ध नगरपालिका वडा नंं ४, काभ्रे निवासी हुनुहुन्छ । उहाँका ‘मेरो कल्पना’ कविता सङ्ग्रह वि.सं. २०२८, मनैभरि माया– गीतिसङ्ग्रह २०५८, र तिमी र साथी–बाल कवितासङ्ग्रह २०७३) कृतिहरू प्रकाशित छन् । उहाँका लेखरचना विभिन्न पत्रपत्रिकाहरूमा समेत प्रकाशित छन् । उहाँ लेखनका अतिरिक्त ४० वर्ष शिक्षण पेशा गरी हाल अवकास प्राप्त जीवन व्यतीत गरिरहनु भएको छ । – सम्पादक )
प्रतिक्रिया