पोप फ्रान्सिसको अन्त्येष्टि आगामी शनिबार बिहान १० बजे (स्थानीय समय अनुसार) सेंट पिटर स्क्वायरमा सम्पन्न हुने भेटिकनले जानकारी दिएको छ । यो ऐतिहासिक मैदानमा यसअघि पनि पोपहरूको अन्त्येष्टि हुँदै आएको छ, जहाँ हजारौं श्रद्धालुहरू उपस्थित हुने अपेक्षा गरिएको छ।
पवित्र धर्मसभा प्रमुख (कार्डिनल )जोभानी बत्तिस्ताले अन्त्येष्टिको प्रमुख समारोहको अगुवाई गर्नेछन्। युकरिस्ट (पवित्र भोज) सम्पन्न भएपछि अन्तिम प्रार्थना र बिदाइ कार्यक्रम हुनेछ। त्यसपछि पोपको शव-पेटी (कफिन)लाई सेंट पिटर बासीलीकाको भित्र पुर्याइनेछ, जहाँ बाँकी धार्मिक विधिहरू सम्पन्न हुनेछन्।
त्यसपछि पोप फ्रान्सिसको पार्थिव शरीरलाई रोमको सान्ता मारिया माज्योरे बासीलीका पुर्याएर अन्तिम विश्राम दिइनेछ। बुधबार बिहान ९ बजे पोपको शवलाई उनको निवासबाट सेंट पिटर बासीलीका ल्याइनेछ, जहाँ उनले राज्य सम्मानसहित विश्राम पाउनेछन्।
हाल पोपको पार्थिव शरीर कासा सान्ता मार्ताको पूजाघरमा खुला शव पेटीमा राखिएको छ, जहाँ उनी आफ्नो पोप कार्यकालभरि बसेका थिए। बुधबार, कार्डिनल केभिन जोसेफ फेरेलको अगुवाइमा संक्षिप्त प्रार्थना पश्चात शवयात्रा सुरु हुनेछ। यो यात्रा पियाज्जा सान्ता मार्ता हुँदै सेंट पिटर स्क्वायरमा प्रवेश गर्नेछ।
पोपको शव सेंट पिटर बासीलीकाको “अल्टर अफ द कन्फेसियो” मा राखिनेछ, जहाँ रोमन क्याथोलिक गिर्जाघरका उच्च पदस्थ धर्मगुरुहरू र सर्वसाधारणले श्रद्धाञ्जली दिन सक्नेछन्। पोपको निधनपछि श्रद्धालुहरू भेटिकनमा भेला हुन थालेका छन्। उनको जीवन र सुधारवादी धारलाई सम्मान दिन हजारौं श्रद्धालु आउने अपेक्षा गरिएको छ।
पोप फ्रान्सिसले आफ्नो कार्यकालमा पर्यावरण, आप्रवासीहरूको अधिकार, एलजिबिटिक्य समुदायको समर्थन जस्ता विषयमा बोल्दै क्याथोलिक गिर्जाघरमा नवप्रवर्तनको पहिचान बनाएका थिए।
प्रतिक्रिया