भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले सोमवार दूरदर्शन (टेलिभिजन )सम्बोधनमा एल साल्भाडोरसँग अमेरिकाबाट निर्वासित गरिएका सयौं भेनेजुएलालीहरूलाई “अपहरण” गरिएको भन्दै तुरुन्त बिना सर्त रिहा गरियोस् भन्दै माग गरेका छन् ।
एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले केही दिन अघि कैदी विनिमयको प्रस्ताव गरेपछि मडुरोले प्रतिवादस्वरूप ती युवाहरूको “जीवित प्रमाण” देखाउन, उनीहरूलाई राखिएको बिशेष कारागारमा परिवार र वकिललाई भेट्ने अनुमति दिन र सबैलाई अविलम्ब मुक्त गरिनुपर्ने माग गरे।
बुकेलेले सामाजिक संजाल एक्स (पूर्व ट्विटर) मा प्रकाशित गर्दै उनी एल साल्भाडोरमा थुनिएका २५२ भेनेजुएलालीलाई फिर्ता गर्न तयार रहेको बताएका थिए । साथै यदि भेनेजुएलाले “२५२ जना राजनीतिक बन्दीहरू” सँग विनिमय गर्न तयार हुन्छ भने उनीहरुलाई फिर्ता गर्ने जनाएका थिए । ती बन्दीहरूमा विपक्षी नेताहरूका आफन्त, पत्रकार, वकिल, कार्यकर्ता र अन्य देशका करिब ५० नागरिकहरु पनि छन्।
बुकेलेले भने, “हाम्रा कैदीहरू हत्यारा, बलात्कारी, वा अपराध दोहोर्याउने हुन्, तर तिमीले थुनेका राजनीतिक बन्दीहरू निर्दोष छन् – उनीहरूलाई तिमी र तिम्रो चुनावी धाँधलीको विरोध गरेको कारणमात्र कारागारमा हालिएको हो।”
भेनेजुएलाले भने एल साल्भाडोरमा थुनिएका आप्रवासीहरूलाई आपराधिक गिरोहसँग सम्बन्ध भएको प्रमाण नरहेको बताउँदै “मानव अधिकार हनन” को आरोप लगाएको छ। भेनेजुएलाका महान्यायाधिवक्ता तारेक विलियम साबले ती कैदीहरूको स्वास्थ्य विवरण र नाम मागेका छन्।
मडुरोले विशेष रूपमा अमेरिकी गल्तीले निर्वासित भएका किलमार अब्रेगो गार्सियालाई पनि फिर्ता गर्न आग्रह गरेका छन्, जसलाई अमेरिकी अधिकारीहरूले कुनै प्रमाण बिना नै आतंककारी र एमएस-१३ गिरोहको सदस्य भनेर आरोप लगाएका छन्।
यस विवादले भेनेजुएला र एल साल्भाडोरबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ।
प्रतिक्रिया