अनेसास वासिङ्टन डीसी मेट्रो च्याप्टरले कवि तथा सञ्चारकर्मी नवराज लम्साललाई सम्मानित गरेको छ । बिहीबार अप्रिल १७ मा मनासस राज्यको बुलरन लाइब्रेरीमा एक समारोहकाबीच उहाँलाई सम्मान गरिएको हो । कार्यक्रममा कवि लम्सालले कविता र काव्यअनुभवहरू प्रस्तुत गर्नुभएको थियो । उहाँलाई स्वागत तथा सम्मान गर्न र उहाँका कुरा सुन्न कार्यक्रममा उपस्थित कविलेखक एवम् साहित्यप्रेमी व्यक्तित्वहरू आातुर देखिनुहुन्थ्यो । कार्यक्रममा बोल्दै कवि लम्सालले जीवन जिउन जो जहाँ रहनसक्छ, वर्तमान समय स्वतन्त्रताको समय हो, सिमाना मानिसका स्वार्थले बनाइएका हुन्, धर्ती, हावापानी र घाम सबैका लागि समान छन् । जीवनमा अरूलाई नराम्रो नजरले नहेरौँ । सृजनशील र सकारात्मक भएर बाँचौँ र यस्तै नवयुगको साहित्य लेखौँ भन्ने धारणा राख्नुभयो । विशिष्ट अतिथिको रूपमा बोल्दै साहित्यकार तथा डीसी च्याप्टरका संस्थापक अध्यक्ष मोहन सिटौलाले कवि नवराज लम्साललाई सम्मान गर्नपाएकोमा खुसी व्यक्त गर्दै कवि लम्सालले नेपाली साहित्यलाई स्तरीय सृजनाहरू सुम्पेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै च्याप्टरका वरिष्ठ उपाध्यक्ष कवीन्द्र सिटौलाले कवि लम्साल नेपाली साहित्यका एक सुन्दर फूल हुन् भन्ने धारणा राख्नुभयो । कवि परशुतिमल्सिनाले कवितावाचन गरी उठान गरिएको सो कार्यक्रममा कवि तथा समालोचक नारायण अधिकारीले कवि लम्सालको चिनारी प्रस्तुत गर्नुका साथै कवितावाचन गर्नुभयो ।
च्याप्टरका महासचिव जगन्नाथ पौडेलको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा कवि लम्साललाई विशिष्ट अतिथि मोहन सिटौला तथा च्याप्टर अध्यक्ष एवम् कार्यक्रममा अध्यक्षता गर्नुभएका नीलकण्ठ सुवेदीले प्रशंसापत्र र खादाद्वारा सम्मानित गर्नुभएको थियो ।
जगन्नाथ पौडेल
प्रतिक्रिया