“न्यायाधीशको कडा टिप्पणी: ‘ट्याटु(कलान्यास)का आधारमा देश निकाला गर्न मिल्दैन’ – ट्रम्प प्रशासनको कदममा रोक

इनेप्लिज २०८२ वैशाख ९ गते २२:१९ मा प्रकाशित

न्यूयोर्कस्थित एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आप्रवासी गिरोहका सदस्यहरूलाई उचित कानुनी प्रक्रिया बिना देश निकाला गर्ने निर्णयलाई मध्ययुगीन यातनाको जस्तो भन्दै कडा आलोचना गरेका छन्।

संघीय न्यायाधीश एल्भिन हेलेरस्टाइनले अप्रिल ९ मा जारी गरेको अस्थायी आदेशलाई मंगलबार थप विस्तार गर्दै न्यूयोर्कको दक्षिणी जिल्लामा थुनिएका आप्रवासीहरूलाई बिना कानुनी प्रक्रिया देश निकाला गर्न रोक लगाए।

ट्रम्प प्रशासनले १८औं शताब्दीको बिदेशी शत्रु ऐन (एलियन एनिमिज एक्ट) प्रयोग गर्दै भेनेजुएलाको ‘ट्रेन डे आरागुआ’ गिरोहलाई “संयुक्त राज्यमाथि आक्रमण गर्ने आपराधिक राज्य” भन्दै दुई विमान भरि आप्रवासीहरूलाई एल साल्भाडोरको चर्चित सिइसिओटि कारागारमा पठाएको थियो।

अमेरिकी अध्यागमन अधिकारीहरूले मार्च १५ मा देश निकाला गरिएका धेरै आप्रवासीहरूसँग अमेरिकामा आपराधिक अभिलेख नभएको स्वीकारेका छन् ।
तिनीहरूलाई ट्याटु(कलान्याश)का आधारमा गिरोह सदस्य ठहर गरिएको थियो।

“यो अमेरिका हो,” न्यायाधीश हेलेरस्टाइनले भने, “ट्याटु (कलान्याश)देखेर मान्छे देश निकाला गर्न पाइँदैन।”

न्यायाधीशले न्याय बिभागका वकिललाई पनि खेदजनक टिप्पणी गर्दै भने, “कानुन स्पष्ट छ: यदि तपाई कसैलाई देश निकाला गर्न चाहनुहुन्छ भने, उसलाई आफ्नो पक्ष राख्ने मौका दिनुपर्छ।”

कोलोराडोमा पनि संघीय न्यायाधीश शार्लट स्वीनीले ट्रम्प प्रशासनले प्रयोग गरिरहेको बिदेशी शत्रु ऐन (एलियन एनिमिज एक्ट)लाई अस्थायी रूपमा रोक लगाउँदै त्यहाँ रहेका गैरनागरिकहरूलाई तीन हप्ता अघिनै सूचना दिन आदेश दिइन्।

उनले ट्रम्पको आदेशले आप्रवासन र मानव अधिकार संरक्षण कानूनको उल्लङ्घन गर्न सक्ने सम्भावना औंल्याइन्।

प्रतिक्रिया